९५ प्रतिशत घरमा महिला हिंसा जिवितै छ : मन्त्री रेग्मी

लोकपथ
52
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छिन् ।

आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्युनिकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन् ।

उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताएकी हुन् ।

मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताउँदै राजनीतिक दलहरुले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाइ छ ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको जानकारी गराउँदै घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताइन् । उनले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले ९५ प्रतिशत घरमा कुनै न कुनै रुपमा महिला हिंसा हुने गरेको बताइन् । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भएपनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाइ छ । मन्त्री रेग्मीले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?