अचार बिक्रीबाट मनग्य आम्दानी

लोकपथ
39
Shares

तेह्रथुम । सानो घर, सानै परिवार, आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।

जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा व्यस्त छिन् ।

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालिन् । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उनकाे उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरिरहेकी छिन् ।

छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उनी घरमै छन् । व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री हुन्छ । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् ।

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई ।

अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?