काठमाडौं । महिला अधिकार : मानव अधिकार भन्ने उद्घोषसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का उपलक्ष्ममा मंसिर २४ गते १६ जिल्लामा प्रदर्शन सहितका कार्यक्रम गर्दै शान्ति समाजले यो अभियानको थालनी गरेको हो ।
महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवम् महिला शशक्तिकरणमा केन्द्रीत रही थालिएको यो अभियान निरन्तर चल्ने छ । यो अभियान अन्तर्गत मंसिर २४ गते शान्ति समाजका जिल्ला शाखाहरुले रुपन्देहीको बुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलंगा, कैलालीको टिकापुर, मोरङको विराटनगर, अछामको मंगलसेन, संखुवासभाको खाँदवारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलावारी गरी १४ जिल्लामा प्रदर्शन गरेका थिए भने शान्ति समाज काठमाडौं र दाङ शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।
प्रदर्शनमा अधिकारकर्मीहरुले महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व न्यून किन ?, नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्यून किन ?, प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरुद्वारा प्रत्यक्षतर्फ महिला उम्मेद्वार न्यून किन ?, मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व न्यून किन ?, कुटनीतिक नियुक्तिमा महिलाको प्रतिनिधित्व न्युन किन ?, महिलाहरुलाई होच्याउने/अपमान गर्नेहरुलाई उन्मुक्ति किन ?, महिला विरुद्ध अझै पनि भेदभाव किन ?, महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?, बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ?, महिला अधिकार : मानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ लेखिएका प्डेकार्डहरु प्रदर्शन गरेका थिए ।
यसैगरी ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया