कर्मचारी सञ्चय कोषका नवनियुक्त प्रशासकद्वारा पदभार ग्रहण

लोकपथ
14
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन् । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गरेको थियो । कोष सञ्चालक समितिका अध्यक्ष एवम् अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले धिताललाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै अर्थ सचिव पुष्करले नवनियुक्त प्रशासकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले भने, ‘यहाँको नेतृत्वमा सञ्चय कोषको स्रोत सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानी हुने कुरामा विश्वस्त छु ।’ सचिव पुष्करले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रशासक धितालले आफ्नो नेतृत्व र मातहतका सबै कर्मचारी तथा निकायको समन्वयमा सञ्चय कोषलाई नयाँ उचाइँमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । प्रशासक धितालले कोषलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि जनाए।

त्यसो त धिताल निमित्त प्रशासक हुँदा नै कोषले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । कोषले यो वर्ष फिलिपिन्समा रहेको एसिया प्यासिफिक क्षेत्रका डेभलपमेन्ट फाइनासिङ संस्थाहरूको संगठन एडीफ्यापबाट ‘टेक्नोलोजी डेभलपमेन्ट’अन्तर्गतको अवार्ड पाएको छ । साथै लामो समयदेखि अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको एसोसिएट सदस्य रहेको कोष यही वर्षदेखि स्थायी सदस्य बनेको छ ।

चार्टर्ड अकाउन्टेन्ट (सीए) धिताल गोरखाका स्थायी बासिन्दा हुन् । अर्थशास्त्र तथा सूचना प्रविधिमा स्नातकोत्तर गरेका धिताल सीएको अध्ययन लगतै सञ्चयकोषमा प्रवेश गरेका थिए । यो वर्ष कर्मचारी सञ्चय कोष ६१ वर्षमा लागेको छ । कोषले सरकारी र निजी क्षेत्रका कर्मचारीको सेवाअवधि र अवकासपछिको वित्तीय सुरक्षाको काम गर्दै आएको छ ।

कोषले सञ्चयकर्ताका ससाना आवश्यकता विशेषतः आवास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा तथा देशको आर्थिक विकासका लागि ठूला पूर्वाधार आयोजनामा लगानीसमेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?