सुदूरपश्चिम र कर्णालीमा प्रत्यक्षतर्फ महिला शून्य : को–को बन्दैछन् समानुपातिक सांसद ?

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रत्यक्ष प्रणालीबाट छानिने महिला शून्यमा पुगेको छ । यी दुबै प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित महिलाको संख्या शून्य अवस्थामा पुगेको हो । प्रदेशमा दलहरुले प्रत्यक्षतर्फ महिलालाई टिकट वितरणमा सहभागिता नगराएकै कारण सहभागिता शून्य हुन पुगेको छ ।

अब, समानुपातिक प्रणालीबाट मात्रै सांसद चुनिने भएका हुन् । राजनीतिक दलहरु प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिक सांसद चयनको गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सिट बाँडफाँड गरेर ‘क्लस्टर’ अनुसार नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारले दौडधुप बढाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाका कुल ५३ मध्ये ३२ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुँदा सबै पुरुष छन् । बाँकी २१ मध्ये ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न १७ जना महिला छान्नुपर्ने छ । त्यस्तै, कर्णाली प्रदेश सभाका कुल ४० मध्ये २४ सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । अब, यहाँ १६ जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ महिला प्रतिनिधित्वविहीन भएपछि समानुपातिक प्रणालीमार्फत् धेरैजसो महिला सांसद चुनिने भएका हुन् ।

समानुपातिक तर्फका १६ मध्ये ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न १३ जना महिला छान्नुपर्ने छ । प्रदेशसभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । सिटको बाँडफाँटपछि प्रदेश सभामा दलहरुलाई आएको भागअनुसार दलहरुले समानुपातिक बन्दसूचीमा बुझाएका नामबाट वर्ग समूह मिलाएर पठाउनुपर्ने छ ।

समानुपातिकको बन्दसूचीमा रहेका कुल उम्मेदवारमध्ये दलहरूले नाम छनोट गर्दा खसआर्य समूहबाट ३१.२%, आदिवासी जनजातिबाट २८.७%, मधेसीबाट १५.३%, दलितबाट १३.८%, थारूबाट ६.६% र मुस्लिमबाट ४.४% प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार समानुपातिक मतका आधारमा दलहरुले समानुपातिक सूचीमा रहेका मध्येबाट सांसद चुन्ने छन् ।

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो दल 

प्रदेश सभामा ५३ सिट रहेको सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट जितेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सिट गरी ११ सिटसहित दोस्रो ठूलो दल बनेको छ ।

प्रत्यक्षमा ३ र समानुपातिकमा ७ सिट गरेर १० सिटसहित नेकपा (एमाले) तेस्रो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिटसहित ७ सिट हात पारेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा १ सिट जितेको छ । प्रत्यक्षतर्फ स्वतन्त्र एक सिटमा निर्वाचित भएका छन् ।

यहाँ आफूले पाएका सिट मध्येबाट दलहरुले छनोट गर्दा खसआर्य ६०.०२, दलित १७.२९, थारु १७.२१, जनजाति ३.६१, मधेसी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्नेछ ।

सुदूरपश्चिममा को–को बन्दै छन् सांसद ?

प्रत्यक्ष र समानुपातिक सिटको टुंगो लागेसँगै दलहरु समानुपातिकको बन्द सूचीमा रहेका मध्येबाट सांसद चुन्न तयारीमा जुटेका छन् । सुदूरपश्चिममा ६ दलले ‘थ्रेसहोल्ड’ कटाएसँगै समानुपातिक सिटमा सांसद छनोट गरी पठाउने छन् । दलहरुले नाम छनोट गर्दा, आदिवासी जनजाति, खसआर्य, थारु, दलित, मधेसी, मुस्लिम आदि ‘क्लस्टर’ मा पठाउनुपर्ने छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले २० जनाको नाम समानुुपातिकको बन्दसूचीमा पठाएको छ । जसमध्ये कांग्रेसले ६ महिला र १ पुरुष गरी ७ जना समानुपातिक सांसद चयन गर्नेछ । समानुुपातिकतर्फ खस–आर्य महिलामा मधु भारती, सरस्वती खड्का, जुनाकुमारी दानी, डम्मरी महरा (रक्षा) प्राथमिकताको सूचीमा छन् । दलित महिलातर्फ ललिता सुनारको एकल नाम छ । थारुतर्फ गिताकुमारी चौधरी पहिलो नम्बरमा छन् । पिछडिएको क्षेत्रबाट धनबहादुर बुढाको एकल नाम छ ।

नेकपा (माओवादी केन्द्र) ले २१ जनाको नाम पठाएकोमा समानुपातिकतर्फ ३ जना महिलाको नाम पठाउनुपर्ने छ । जसमध्ये ८ जना खस–आर्य महिलाको सूचीमा गितादेवी माल, जानकीदेवी कुँवर गरी २ जना पहिलो प्राथमिकतामा छन् । दलिततर्फका २ जना मध्येमा लक्ष्मी विकको नाम पहिलो सूचीमा छ ।

नागरिक उन्मुक्ति पार्टीले १९ जनाको नाम प्रदेश सभाको बन्दसूचीमा पठाएको छ । जसमध्येबाट २ जना समानुपातिक सांसद छानिने छन् । उन्मुक्तिले पठाएको महिला ५ जनामध्ये खस–आर्य महिलामा टिका थापा र इन्दिरा गिरीको नाम पहिलो प्राथमिकता छ । त्यस्तै, नेकपा (एमाले) ले पठाएको २१ जनाको बन्दसूचीमा ७ जना समानुपातिक सांसद चयन गर्नेछ । जसमा ३ महिला र ४ पुरुष छानिने छन् ।

सूचीमा रहेका ६ जना खस–आर्य महिलामा सन्तोषकुमारी शर्मा थापा, जानकी बम (ऐर) र दलित २ जनामा राधिका भुजेल पहिलो सूचीमा छन् । त्यस्तै, खस–आर्य ६ जना पुरुषमा राजेन्द्रसिंह रावल, पिछडिएको क्षेत्रबाट भरत साउँद दलितमा हिरा सार्की र थारुतर्फ २ जनामध्ये कुलवीर चौधरी पहिलो सम्भावित सूचीमा रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले १९ जनाको नाम समानुपातिकको बन्दसूचीमा पठाएको छ । प्रदेशसभामा एक सिट पाएको समाजवादीले ६ जना खसआर्य महिलाको सूचीमा माया पन्त पहिलो प्राथमिकतामा छन् । एक सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ जनाको नाम पठाएकोमा समानुपातिकमा १ सिट पाएको छ । खसआर्य तर्फ ६ जना पुरुषमा पूर्णबहादुर चन्दको नाम पहिलो सूचीमा रहेको छ ।

कर्णालीमा पनि कांग्रेस नै ठूलो दल

कर्णाली प्रदेशसभामा ४० सिट रहेकोमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षमा ९ सिट जितेको कांग्रेसले समानुपातिकमा ५ सिट सहित कुल १४ सिट जितेको छ ।

यस्तै, प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरेर १३ सिट जोडेको नेकपा (माओवादी केन्द्र) दोस्रो दल बन्दा प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरेर १० सिटसहित नेकपा (एमाले) तेस्रो दल बनेको छ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ एक–एक सिट जितेका छन् । प्रत्यक्षतर्फ स्वतन्त्रले एक सिट जितेको छ ।

यहाँ आफूले पाएका सिट मध्येबाट दलहरुले छनोट गर्दा खसआर्य ६२.०२, दलित २३.२५, थारु ०.५, जनजाति १३.६३, मधेसी ०.२४ र मुस्लिम ०.१८ प्रतिशत छान्नुपर्ने छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १.४७ र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट ३२.०४ प्रतिशतको नाम समावेश गर्नुपर्नेछ ।

कर्णालीमा को–को बन्दै छन् सांसद ?

कर्णाली प्रदेश सभाका ४० सदस्यीय सांसदमध्ये प्रत्यक्ष प्रणालीतर्फ २४ र समानुुपातिकतर्फ १६ सांसद प्रदेश सभामा पुग्ने छन् । यहाँ कुल सदस्य संख्याको ३३ प्रतिशतले १३ जना महिला मात्रै निर्वाचित हुनेछन् । कर्णालीमा प्रत्यक्षतर्फ महिला एकजना पनि निर्वाचित भएका छैनन् ।

६ दलले आफूले पाएको समानुपातिक मतको आधारमा बन्दसूचीबाट नाम छनोट गर्ने छन् । पहिलो दल बनेको नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट १६ जनाको नाम समानुपातिक तर्फको बन्दसूचीमा पठाएको छ । जसमा ५ जना महिला सांसद चयन गरी पठाउने छ । खस–आर्यतर्फका ५ जनामध्येमा जानकी सिंह, विजया बुढा र इन्द्राकुमारी शाही प्राथमिकतामा छन् ।

त्यस्तै, आदिवासी जनजातिमा बलिमाया बुढाको एकल नाम छ भने, दलित तर्फका २ जनामा लक्ष्मी सुनारको नाम पहिलो नम्बर सूचीमा छ । दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले १६ जनाको नाम पठाएको छ । जसमा समानुपातिकतर्फ ४ सिटमा सांसद छान्नुपर्नेछ । खस–आर्यतर्फका ५ जनामा यसोदा न्यौपाने र मिलन खड्का रोका पहिलो प्राथमिकतामा छन् ।

आदिवासी जनजातिमा जुम्कित लामा कार्कीको नाम एकल छ । दलित २ जना महिलामा उर्मिला विक पहिलो सूचीमा छन् । त्यस्तै, तेस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले) ले कुल १६ जनाको बन्दसूची बुझाएको थियो । जसमा ५ जना महिला चयन गरि पठाउनेछ । एमालेको खस–आर्यतर्फको सूचीमा रहेका ५ जनामा दक्षिणा शाही र तुलसा मल्ल पहिलो प्राथमिकतामा छन् ।

दलिततर्फका २ जना महिलामा गमता विक र खस–आर्यतर्फका ५ जना पुरुषमा बालाराम शर्माको नाम पहिलो नम्बरमा छ भने, दलित २ जना पुरुषमा नवेन्द्र नेपाली छन् । समानुपातिकमा एक सिट पाएको नेकपा (एकीकृत समाजवादी) ले कुल १६ जनाको बन्दसूची पठाएको थियो । जसमा खस–आर्यतर्फका ५ जनामा बरुनाथ योगी पहिलो प्राथमिकताको सूचीमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा एक जना छनोट गरी पठाउनेछ । राप्रपाले कुल १४ जनाको नाम बन्दसूची पठाएको थियो । जसमा खस–आर्य तर्फका ४ जना पुरुष मध्येबाट रमानन्द न्यौपाने पहिलो सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?