‘नर्भिक आइभिएफ’ ले दिएको खुशी : निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

लोकपथ
112
Shares

काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए ।

भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदासमेत सन्तान जन्माउने रहर अधुरै रह्यो । झा दम्पत्तिलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आइभिएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए ।

अन्ततः आइभिएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि नर्भिक आइभिएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् ।

‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीवार भने ‘सन्तान विहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’

रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् । ‘डाक्टर गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ ।’ उनले भनिन् ‘बच्चाहरु पाएको दिन म झनै खुशी हुन्छु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ ।

झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आइभिएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डाक्टर नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डाक्टर शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डाक्टर शर्माले बताइन । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?