‘नयाँ गाडी नआउँदा रिकण्डिसन गाडीको किचबेच पनि घटेको छ’

लोकपथ
78
Shares

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला सुस्ताएको छ । तर, कतिपय अवस्थामा रिकण्डिसन हाउसहरुले पनि गाडी चढ्ने धोको पुरा गरिदिएका छन् । उसो त नेपालमा रिकण्डिसनका गाडीको विक्रीको अवस्था कस्तो छ ? रिकडिसन गाडी किनबेच गर्दा के के कुरामा ध्यान दिने ? लगायतका विषयवस्तूमा केन्द्रीत रहेर सिप्रदी एस्यार्डका सह–महाप्रबन्धक ध्रुब रेग्मीसँग लोकपथले गरेको कुराकानीको सम्पादित अंश :

सिप्रदी एस्योर्डमा रिकण्डिसन गाडी विक्रीको अवस्था कस्तो छ ?

बिक्रीको अवस्था तुलनात्मक रुपमा घट्दो छ । अहिलेको आर्थिक अवस्थाका कारण अटोमोवाइल क्षेत्र धरासयी बन्दै छ । बैंकको ब्याजदर बढ्नाले अटोमोबाइल क्षेत्रमा जसरी लोनको प्रवाह भएको थियो त्यसमा कमी आएको छ । जसकारण गाडी बिक्रीको अवस्थामा पनि कमी आएको छ ।

कति प्रतिशतले घटेको छ ?

झण्डै ५० प्रतिशतले नै घटेको छ ।

सरकारले नयाँ गाडीको आयातमा रोक लगाएको महिनौँ बितिसक्यो, यसले तपाईंहरु जस्तो रिकण्डिसन गाडी बेच्नेलाई कत्तिको असर गर्यो ?

‘सेकेण्ड ह्याण्ड’ गाडी बेच्ने जो बिक्रीकर्ता हुनुहुन्छ उहाँहरुको मेन सप्लाई हुने भनेको एक्सचेन्ज अथवा बिक्रीबाट हो । जसले गाडी चढिरहनुभएको छ उहाँले गाडी बेचेर त्यतिकै बिना गाडी त हिड्नुहुन्न । उहाँहरु अपग्रेड हुँदा सेकेण्ड हेण्ड गाडी बजारमा आउने हो । अर्थात्, पुरानो बेचेर नयाँ किन्ने हो । अहिले सरकारले नयाँ गाडीको आयातमा रोक लगाउँदा नयाँ गाडी किन्नेहरुका लागि अप्सन नै भएन । जसले गर्दा सेकेण्ड ह्याण्ड गाडी किन्नेहरुका लागि पनि अप्सन नै छ । त्यसैले नयाँ गाडी नआउँदा हामी जस्तो रिकण्डिसन गाडी बेच्नेहरुलाई पनि असर गरेको नै छ ।

सिप्रदी एस्योर्डले विक्री गर्ने गाडीमा ग्राहकहरुको प्रतिक्रिया कस्तो छ ?

‘सेकेण्ड ह्याण्ड’ गाडीमा एउटा विश्वासको कुरा हुन्छ । गाडीमा के कसो छ, बाहिरबाट हेर्दा थाहा हुँदैन । हामीले कुनै पनि सेकेण्ड ह्याण्ड गाडी लिएपछि त्यसको सबै प्राविधिक र मेकानिकल पार्टहरु हेर्छौँ । जसले गर्दा ग्राहकले प्राविधिक रुपमा समस्या झेल्नु पर्दैन । हामीसँग गाडीको डकुमेन्टेसन पनि गरेका हुन्छौँ । हामीले नै नामसारी गरेर दिन्छौं । त्यसैले हाम्रो प्रकृयालाई ग्राहकले विश्वास गर्नुभएको छ । यो विश्वासलाई डगमगाउन दिने छैनौँ ।

तपाईंहरुले कुन–कुन ब्राण्डका गाडी विक्री गर्नुहुन्छ ?

टाटाको नयाँ गाडी किन्ने ग्राहकसँग जुन–जुन गाडी छ हामी सबै साटिदिन्छौं । हाम्रो विजनेश मोडालिटी नै त्यही हो । जसले गर्दा पुरानो गाडी बेच्न चाहने ग्राहकका लागि पनि झमेला नहुने भयो । हामी ग्राहकको पुरानो गाडीको मूल्यांकन गरेर नयाँ गाडी दिन्छौँ । यदि टाटाको बाहेक अरु गाडी लिनेहरुका लागि भने त्यो अप्सन छैन ।

रिकण्डिसन गाडी किन्नेहरुले सिप्रदी एस्योर्डबाट कस्तो सुविधा पाउँछन् ?

मूख्य कुरा भनेको हामीले फाइनान्स सुविधा दिन्छौँ । हामीकहाँ इनहाउस फाइनान्स सुविधा छ । त्यस्तै, बैकहरुसँग पनि हाम्रो सम्बन्ध राम्रो छ । त्यस्तै अर्को सुविधा भनेको बिक्रीपछिको सेवा हो । त्यस्तै, हामीसँग वारेन्टीको सुविधा पनि छ ।

बिक्री पछि पनि गाडी एक्सचेन्ज गर्नुपर्यो, केही टेकनिकल सहायता चाहियो, गाडी कतै बाटोमा मर्मत गर्नुपर्यो भने हामीले सुविधा दिन्छौँ ।

तपाईंहरुको लक्ष्यअनुसकार गाडी विक्री भएका छन् त ?

छैन । केही महिनाअघि मात्र चाडवाडको समयमा पनि विभिन्न कारणले गर्दा सोचजस्तो गाडी विक्री गर्न सकिएन । जेठदेखि नै गाडीको आयातमा रोक लाग्नु यसको प्रमुख कारण हो । अर्को भनेको लोनमा कडाइ भएका कारणले गर्दा केही सामान्य ग्राहकले गाडी लिन्छु भन्दा पनि लिन सक्ने अवस्था रहेन । त्यसैले सोचजस्तो गाडी बेच्न सकिएको छैन ।

नेपालमा कुन वर्गका मानिसले रिकण्डिसन गाडी चढ्दा रहेछन् ?

विश्वव्यापी रुपमा हेर्ने हो भने पनि नयाँ भन्दा पुरानो गाडीको खरिदबिक्री तीन चार गुणा भएको पाइन्छ । युरोप, अमेरिकातिर धेरैजसो सेकेण्ड ह्याण्ड गाडीको खरिदविक्री धेरै हुन्छ । नेपाल पनि पनि त्यही छ ।

जसमा कतिपय फस्र्टटाइम युजर हुनुहुन्छ । उहाँहरुले चाहिँ पहिला पुरानो गाडी किनेर सिक्ने अनि मात्रै नयाँ लिएको पाइन्छ । यसका अलवा घरपरिवारमा सदस्य संख्यामा वृद्धि भएपछि, आम्दानी बढेपछि मानिसहरुले नयाँ सवारी साधनको खरिद गर्ने गरेको पाइन्छ । त्यस्तै, जो दुई पाङ्ग्रेबाट चार पाङ्ग्रेमा उक्लँदै हुनुहुन्छ उहाँहरुको रिकण्डिसनतर्फ आकर्षण बढेको देखिन्छ ।

रिकण्डिशन गाडी खरिद गर्दा आम सर्वसाधरणले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

पहिलो कुरा त गाडीको टेक्निकल कुराहरु जाँचबुझ गर्नुपर्छ । गाडीमा खर्च धेरै आउने कुराहरु छन् कि, इन्जिनको अवस्था कस्तो छ, दुघटनामा परेको छ कि छैन, यातायातबाट नामसारी गर्नु पर्ने प्रावधानहरु के छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसपछि गाडीको अवस्था कस्तो छ, कहाँ–कहाँ चलाएको थियो, चलाएर राखेको हो कि ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

मूख्य कुरा इन्जिन, कागजपत्र सहि छ या छैन हेर्नुपर्यो । साथै, वडो मिटरमा देखिएको किलोमिटर र गाडीको अवस्थामा म्याच गर्छ या गर्दैन त्यसमा पनि हेर्नुपर्यो ।

नयाँ गाडी र रिकण्डिसनबाट गाडी किन्दा मूल्य चाहिँ कति फरक पर्छ ?

सेकेण्ड ह्याण्डमा गएपछि नयाँ भन्दा २० देखि ३० प्रतिशत सस्तो हुन्छ । नयाँ र पुरानोका बीचमा धेरै फरक मूल्य भयो भने ग्राहकले किन पुरानो गाडी किन्ने अरुले चलाएकोमा रिस्क नलिने भन्दै नयाँ गाडी किन्ने पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?