गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेको चर्चा, कांग्रेसबाट को–को छन् आकांक्षी ?

सरकार बनाउने खेल शुरु

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरु केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माणको अभ्यासमा जुटेका छन् । चुनावअघि नै गठबन्धन गरेको कांग्रेस–माओवादीसहितका दलहरु सोही गठबन्धनलाई निरन्तरता दिएर सरकार गठनमा जुटेका छन् ।

यता क्षेत्रगत हिसाबमा गठबन्धन गरेर गएको एमाले पनि अन्य राजनीतिक दललाई मिलाएर सरकार बनाउने खेलमा लागेको छ । केन्द्र सरकार गठनका लागि राजनीतिक दलहरुले जोडघटाउ गर्दैगर्दा प्रदेशको नेतृत्व कुन राजनीतिक दलले गर्ला भन्ने चर्चा चल्न थालेको छ । मत परिणाम आएसँगै गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठनको चर्चा चल्न थालेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशको प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्दा प्रत्यक्षको ३६ सिटमध्ये १८ सिट जितेको छ । गठबन्धनको भागबण्डा अनुसार २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले १८ सिट जितेसँगै सरकारको नेतृत्व गर्ने तयारीमा लागेको छ । समानुपातिकमा पनि ३ लाख ४९ हजार ६ सय ६२ मत प्राप्त गरेको छ । जसको कारण गण्डकीमा अब कांग्रेस नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ ।

गण्डकी प्रदेशमा ठूलो दल बनेको कांग्रेसभित्र सरकारको नेतृत्वका लागि नेताहरुले दौडधुप थालेका छन् । कांग्रेसका केन्द्रीय नेताहरुको गृह प्रदेश रहेका कारण पनि पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने चासो बढेको छ । मुख्यमन्त्री बन्न पार्टी संसदीय दलको नेता बन्नु पर्ने भएकाले प्रदेशसभामा जितेका नेताहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।

हालसम्म गण्डकीको मुख्यमन्त्रीका लागि कांग्रेसबाट सुरेन्द्र पाण्डे (गोरखा–२ ‘ख’), विन्दुकुमार थापा (कास्की–२ ‘ख’), शुक्रराज शर्मा (समानुपातिक), महेन्द्रध्वज जिसी (नवलपुर–१ ‘क’) र भोजराज अर्याल (स्याङ्जा–२ ‘क’) को नाम चर्चामा छ ।

कसको सम्भावना कति ?

गण्डकीको भावी मुख्यमन्त्रीको रुपमा चर्चामा आएको नाम हो सुरेन्द्र पाण्डे । कांग्रेस केन्द्रीय सदस्य रहेका पाण्डे यसअघि राष्ट्रिय सभा सदस्यहुँदै दलको नेता समेत बनिसकेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरुबाट समेत भावी मुख्यमन्त्रीको चर्चा पाएका पाण्डे दलको नेता बन्ने तयारीमा लागेका छन् । ०७४ र ०७९ को निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभाका लागि उनको नाम सिफारिस भए पनि ०७४ मा डा. बाबुराम भट्टराई र ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई क्षेत्र छोड्न परेको थियो ।

जसको कारण ०७४ मा राष्ट्रिय सभा सदस्य बनाइयो भने सम्पन्न निर्वाचनमा मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशको उम्मेवार बनाइएको थियो । सोही गुन तिर्न पनि बाबुराम र प्रचण्डले उनलाई मुख्यमन्त्री बनाउन पहल गर्ने देखिन्छ । गोरखा–२ मा गठबन्धनका उम्मेदवार बनेका प्रचण्डले पाण्डेलाई भावी मुख्यमन्त्री रहेको उद्घोष गरेसँगै उनलाई थप राहत मिलेको छ ।

यता नेपाल भट्टराईले पनि पाण्डेको मुख्यमन्त्रीको दाबीलाई समर्थन गरेका छन् । गठबन्धन दलको समेत साथ पाएका उनी संसदीय दलको नेतामा सर्वसम्मत हुँदै मुख्यमन्त्री बन्ने ध्याउन्नमा रहेका छन् । निर्वाचन जितेसँगै पाण्डे आफ्नो पक्षमा माहोल बनाउन प्रदेशदेखि केन्द्रसम्मका नेताकहाँ दौडधुपमा छन् ।

त्यस्तै गण्डकीको मुख्यमन्त्रीको आकांक्षीको रुपमा चर्चामा आएको अर्को नाम हो विन्दुकुमार थापा । कास्की क्षेत्र नं २ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका थापा गण्डकीबाट मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् । हाल उनी गण्डकीको कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री छन् । सो क्षेत्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित उनी पनि देउवा निकट मानिन्छन् । निर्वाचित भएसँगै संसदीय दलको नेता बन्न थापा शक्तिकेन्द्र धाउन थालेका छन् ।

प्रदेशको राजधानी रहेको कास्कीमा बाहिरबाट मुख्यमन्त्री बन्दा राजधानीको विकास नभएको भन्दै कास्कीबाटै मुख्यमन्त्री बनाउनुपर्ने उनको माग राख्दै आएका छन् । त्यस्तै कांग्रेस नेता शुक्रराज शर्मा पनि मुख्यमन्त्री बन्ने दौडमा छन् । गण्डकी कांग्रेसको सभापति समेत रहेका शर्मा प्रदेशको खसआर्यमा नेपाली कांग्रेसबाट समानुपातिकको पहिलो नम्बरमा छन् ।

संस्थापन इतर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिने उनलाई पौडेलले आफ्नो टिमबाट संसदीय दलको नेता बनाउन सक्ने धेरैको अनुमान छ । त्यस्तै गण्डकीको आगामी मुख्यमन्त्रीको आकांक्षीको रुपमा नवलपुर–१ ‘क’ बाट निर्वाचित महेन्द्रध्वज जिसी पनि छन् । पौडेलनिकट नै रहेका उनी पूर्वमहामन्त्री शशांक कोइरालाको समेत सहमति जुटाउन लागी परेका छन् ।

त्यसैगरी स्याङ्जा–२ ‘क’ बाट निर्वाचित भोजराज अर्याल पनि संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दौडमा छन् । कोइरालानिकट मानिने उनी कांग्रेसका पुराना नेता हुन् । संस्थापन इतर समूहको वर्चस्व रहेको गण्डकीमा इतर समूहले मुख्यमन्त्रीको भाग पाएमा अर्यालको सम्भावना रहेको धेरैको बुझाइ छ । अर्यालले पनि निर्वाचन जितेसँगै प्रदेशदेखि केन्द्रसम्म भेटघाटलाई तीव्र पारेका छन् ।

प्रदेशको मुख्यमन्त्री केन्द्रको भागबण्डामा निर्भर

भावी मुख्यमन्त्रीका लागि नेताहरुले आकांक्षा देखाए पनि केन्द्रको भागबण्डाको आधारमा मात्रै त्यसको टुंगो लाग्ने देखिन्छ । कांग्रेसमा धेरै गुट–उपगुट रहेका कारण केन्द्रमा संसदीय दलको नेता बन्न हानथाप रहेको छ । संसदीय दलको नेता फेरि पनि आफैँ बन्ने दाउमा रहेका देउवाले अन्य नेताहरुसँग सहयोग मागिरहेका छन् ।

जसको कारण संस्थापन इतरका पनि केही नेताको समर्थन जुटाएर देउवा संसदीय दलको नेता बनेमा प्रदेशहरुमा संस्थापन इतरबाट मुख्यमन्त्रीका लागि अघि सारिने देखिन्छ । केन्द्रमा देउवा नै संसदीय दलको नेता बनेमा प्रदेशमा तयारी थाले पनि मुख्यमन्त्रीमा इतरलाई छोड्नुपर्ने गण्डकी प्रदेश कांग्रेसका एक नेताले बताए ।

‘संघमा शेरबहादुर देउवा केही संस्थापन इतरका नेताहरुलाई मिलाएर संसदीय दलको नेता बनेमा सो गुटबाट अघि आएका नेताहरु भन्दा बाहेकका नेताहरुको पालो आउने देखिन्छ ।’ ती नेताले भने, ‘कांग्रेस नेतृत्वमै गण्डकी सरकार गठन हुने भए पनि केन्द्रको समीकरणको आधारमा मात्रै प्रदेशमा को उम्मेदवार बन्छ थाहा हुन्छ ।’

मुख्यमन्त्रीका चुनौती

सानो भूगोलको नेपालमा संघीयता नै काम नभएको भन्ने टिप्पणी भइरहेका बेला बितेको पाँच वर्षमा प्रदेश सरकारले संघीयताको औचित्य पुष्टि गर्ने गरी काम गर्न सकेनन् । पाँच वर्षको अवधिमा पटकपटक सरकार र दर्जनौँ मन्त्री फेरिएसँगै प्रदेशको औचित्यमाथि थप प्रश्न उब्जिएको छ । कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआएको अहिलेको अवस्थामा पनि प्रदेश सरकारमा फेरबदल हुने देखिन्छ ।

जसको कारण अब बन्ने सरकारले पाँच वर्षको अवधिमा संघीयतामाथि उब्जिएका प्रश्नहरु निराकरण गर्न अघिल्ला गल्तीहरुबाट पाठ सिक्दै प्रदेशको औचित्व स्थापित गर्न लाग्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?