रोकिएन कैलालीमा काठ तस्करी

लोकपथ
1.2k
Shares

काठमाडौं । बर्दगोरिया गाउँपालिका–३ मा गत कात्तिक अन्तिम साता गस्ती गर्दा सालका गोलियासहित दुई जना पक्राउ परे । दानुफाँटा नमूना सामुदायिक वन क्षेत्रबाट कैलालीको बर्दगोरिया–६ का ४२ वर्षीय किसन वि.क र ३३ वर्षीय वीरेन्द्र वि.क तस्करी गरिरहेकै अवस्थामा समातिए । सब–डिभिजन वन कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गर्‍यो ।

४ वटा सालका गोलिया, दुई गोरुगाडा (डलब), आरा र बन्दोबस्तीका सामानसमेत बरामद भए । तर, वन कार्यालय पहलमानपुरले उनीहरुमाथि छानबिन (अनुसन्धान) भइरहेको बताए पनि पक्राउ परे लगत्तै तस्करी गर्नेहरू धरौटीमा छुटे । सब–डिभिजन वन कार्यालय पहलमानपुरका वन रक्षक समिर सिंहकाअनुसार सामुदायिक वन हेरालुले दिएको विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

काठ र व्यक्ति पक्रेर अनुसन्धान गरी पठाए पनि तत्कालै उनीहरु धरौटीमा छुटेका छन् । उक्त घटनाको महिनादिन नबित्दै सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेशविक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो ।

सोमबार बिहान साढे ५ बजे बेवारिसे अवस्थामा से १ त २६१० नम्बरको ट्रयाक्टरमा तस्करी भइरहेका बेला ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको २६.७८ क्युफिट काठ र ट्रयाक्टरलाई सब–डिभिजन वन कार्यालय बौनियामा बुझाइएको प्रहरी निरीक्षक शाहीले बताए ।

पछिल्लो समय काठ तस्करीका घटना मौलाउँदै गएका छन् । महिनौंपिच्छे काठ तस्करी बढ्दै जान थालेको हो । तराईसँग जोडिएका चुरे र यहाँका सामुदायिक वन क्षेत्रबाट तस्करले लुकाईछिपाई नयाँ–नयाँ शैलीमा काठ तस्करी गर्न थालेका छन् । उनीहरुले तस्करीमा प्रयोग गर्ने साधनमा फरक–फरक नम्बर प्लेट राख्ने गरेको समेत खुलेको छ ।

अधिकांश स्थानमा काठ तस्करीमा संलग्न व्यक्ति भने फरार भइरहेका छन् । सब–डिभिजन वन कार्यालय रामपुर (बौनिया) का वन अधिकृत गौचरण चौधरी वन कार्यालयमा कर्मचारी अभावले नियमित गस्ती गर्न नसकिएकोे बताउँछन् । ‘नियमित गस्ती गरिरहेकै छौँ तर, हामीसँग जनशक्ति (कर्मचारी) पनि थोरै छ,’ उनले भने ‘काठ तस्करीका विषयमा केही जानकारी पाएपछि निगरानी बढाएका छौँ, अवैध रुपमा तस्करी भएका काठलाई प्रक्रियागत रुपमा घाटगद्दी गर्ने र तस्करी गर्ने कसैलाई पनि छाडिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?