सुदूरपश्चिममा उन्मुक्ति उदाउँदा खुम्चियो ठूला दलको प्रभाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रमुख ठूला दलको प्रभाव साँघुरिदै गएको छ । पार्टीभित्रको आन्तरिक विग्रह, गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै पार्टीका नेताहरूले बागी उम्मेदवारी दिएपछि ठूला दलको प्रभाव क्रमशः खुम्चिँदै गएको हो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा ठूलाशक्ति केन्द्रित दलले अपेक्षाकृत जनाधार कायम गर्न सकेनन् । जसको प्रभावले साना दलले जनविश्वास हासिल गरे ।

प्रदेशमा ठूला दलले आफ्नो परम्परागत विरासत गुमाउँदै गर्दा ज्यान मुद्दामा दोषी ठहर भएका रेशम चौधरीले दर्ता गराएको नागरिक उन्मुक्ति पार्टीले जबरजस्त जित निकालेको छ । अघिल्लो निर्वाचनमा ठूलो दल बनेको नेकपा एमाले यस पटक नराम्ररी खुम्चिन मात्र पुगेन, प्रदेश इन्चार्ज र सह–इन्चार्ज नै प्रतिनिधि सभा सदस्यमा पराजित भए । एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई निर्वाचन भारी हुन पुग्यो ।

कैलाली क्षेत्र नं.–४ बाट उम्मेदवार रहेका भट्ट लगातार डेढ दशक यता संसदीय यात्रामा थिए तर, यसपटक भने उनको यात्रा असफल भयो । उनी हाल एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । विद्यार्थी राजनीतिदेखि नै कम्युनिष्ट पार्टीसँग नजिक भट्ट नेकपा (मसाल), एकता केन्द्र हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत भएका थिए ।

नेकपा विभाजनपछि एमालेतिर लागेका भट्टले यसअघि चारपटक मन्त्रालयको नेतृत्व सम्हालेका थिए । ०६५ मा श्रम तथा यातायात व्यवस्था, ०६७ मा विज्ञान प्रविधि, ०६८ मा वाणिज्य तथा आपूर्ति र ०७६ माघमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने अवसर पाए । अन्तरिम व्यवस्थापिका ०६३ बाट संसदीय यात्रा प्रारम्भ गरेका भट्ट संविधान सभा निर्वाचन ०६४ मा कैलाली–५ बाट निर्वाचित हुँदा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली–४ बाट विजयी भएका थिए ।

तर, यसपटक ०७९ को निर्वाचनमा भट्ट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसँग पराजित भए । बलायरले २६ हजार २७५ मत ल्याएर निर्वाचित हुँदा भट्टले २२ हजार ६६३ मतमै रोकिए । त्यस्तै, एमाले स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज कर्णबहादुर थापा पनि बाजुराबाट प्रतिनिधि सभा सदस्यमा चुनिन सकेनन् ।

उनी नेपाली कांग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेसँग पराजित भए । पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरी विजयी हुँदा थापाले २६ हजार ३४९ मतमै सीमित हुन पुगे । दोस्रो संविधान सभा निर्वाचन ०७० मा बाजुराबाट प्रत्यक्ष निर्वाचन जितेका थापाको यसपटक दोहोरिने प्रयास विफल भयो । नेपाली कांग्रेस बाजुराका तत्कालीन पार्टी सभापति मानबहादुर रावललाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थापा उद्योग मन्त्री समेत बनेका थिए ।

थापा मन्त्री बनेको ६ महिनामै पदबाट हट्नुपरेको थियो । ०७४ मा समानुपातिक तर्फबाट सांसद बन्न चाहे पनि नसकेका थापा यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । थापा एमालेमा अध्यक्ष केपी ओली निकट नेता मानिन्छन् ।

नयाँ दलले खोसे ठूला दलको सिट

लामो समय राजनीतिक प्रभावमा रहेका प्रमुख ठूला दललाई नयाँ दलले सुदूरपश्चिम प्रदेशसभा निर्वाचनमा नै स्तब्ध तुल्याएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ०७४ को संसदीय निर्वाचनमा जित हात पारेका क्षेत्रमा अहिले साना दलले सफलता पाए ।

प्रदेशमा बलियो राजनीतिक शक्तिका रुपमा रहेको एमाले प्रतिनिधि सभाका दुई ‘सिट’ मा खुम्चिँदा बलियो पकड क्षेत्र नै गुमाउनु परेको हो । नेकपा (माओवादी केन्द्र) त सुदूरपश्चिममा प्रतिनिधिविहीन हुँदै शून्यमा पुगेको छ । सत्ता गठबन्धनको बलमा पनि माओवादीले सिट जोगाउन सकेन । सिट बाँडफाँटमा माओवादीले कैलाली–२, कैलाली–३, कञ्चनपुर–१ र बैतडीमा गरी चार सिट पाए पनि जित्न सकेन ।

बैतडी र कञ्चनपुर–१ मा माओवादीलाई एमालेले रोक्यो । नेपाली कांग्रेसले भने गुमेका निर्वाचन क्षेत्रमा आफ्नो साख फिर्ता गरेको छ । ०७४ मा प्रतिनिधि सभामा सुदूरपश्चिमबाट चुनाव जित्नेमा कांग्रेस उम्मेदवारमा सभापति शेरबहादुर देउवा मात्रै थिए । ०७९ को संसदीय निर्वाचनमा प्रतिनिधि सभाका १६ सिटमध्ये कांग्रेस ८, एकीकृत समाजवादी ३, नागरिक उन्मुक्ति पार्टी ३ र एमाले २ सिटमा विजयी भएको छ ।

जबकी, पाँच वर्षअघि एमालेले ११ सिट जित्दा माओवादीले ३ तथा कांग्रेस र जसपाले एक/एक सिट जितेका थिए । तर, अहिले परिणाम उल्टिएको छ । सुदूरपश्चिममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट अछाम–२ मा पुष्पबहादुर शाह, कैलाली–४ मा वीरबहादुर बलायर, कैलाली–५ मा डिल्लीराज पन्त, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर–२ नारायणप्रकाश (एनपी) साउद, कञ्चनपुर–३ रमेश लेखक र बाजुराबाट बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।

एमाले विभाजित भइ बनेकोे अर्काे दल नेकपा एकीकृत समाजवादीबाट अछाम–१ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आले निर्वाचित भएका छन् । पार्टी विभाजनको चोट लिएर चुनावमा होमिएको एमाले दुई सिटमा सीमित बन्यो । एमालेबाट बैतडीमा दामोदर भण्डारी र कञ्चनपुर–१ मा तारा लामा तामाङ निर्वाचित भए ।

यसपटक नयाँ राजनीतिक शक्तिको रुपमा नागरिक उन्मुक्ति पार्टीको उदय भयो । नागरिक उन्मुक्तिले यो पटक ठूला भनिएका दलहरुको सिट खोस्न सफल भयो । सत्ता गठबन्धन र ‘हेभीवेट’ उम्मेदवार मानिएका क्षेत्रमा नै नागरिक उन्मुक्ति पार्टीले कब्जा जमाएको हो । कैलालीमा प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दै माओवादी केन्द्र र एमालेको सिट खोसेको छ भने, र प्रदेशमा पनि माओवादी, कांग्रेस र एमालेको सिट खोसेको छ ।

उक्त पार्टीबाट कैलाली–१ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा फराकिलो मतान्तरसहित निर्वाचित भइन् । उनले ३० हजार ४०४ मत ल्याउँदा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरी १८ हजार ८१ मतमा सीमित भए । कैलाली–२ मा सोही पार्टीका अरुणकुमार चौधरीले जित हात पार्दा एमालेका निवर्तमान सांसद झपटबहादुर रावल पराजित भए ।

अरुणले २१ हजार ७१ मत ल्याउँदा रावलले १६ हजार १२८ मत ल्याए । कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भए । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पराजित गरे । गंगारामले २३ हजार १२० मत ल्याउँदा कृष्णकुमारले १७ हजार ७४९ मत ल्याए ।

प्रदेशमा पनि फेरियो समीकरण

०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभामा अधिकांश सिट जितेर एकलौटी सरकार चलाएको नेकपा (माओवादी केन्द्र) यसपटक कमजोर देखिएको छ । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी तेस्रो शक्तिको रुपमा उदाउँदा एमाले चौँथोमा झरेको छ । प्रदेशमा आफ्नो बलियो उपस्थिति जनाएको एमाले प्रत्यक्षतर्फ तीन ‘सिट’ मा खुम्चिन बाध्य भएको छ ।

प्रदेश सभामा अधिकांश नयाँ उम्मेदवार प्रवेश गरेका छन् । कैलाली २ (२) मा माओवादीका निवर्तमान सांसद नन्दबहादुर साउँदलाई पराजित गर्दै नागरिक उन्मुक्तिका रामेश्वर चौधरी विजयी भए । यस्तै, कैलाली क्षेत्र नं. १ (२) मा पनि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी विजयी भए । सो क्षेत्रमा ०७४ को निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावल निर्वाचित भएका थिए । तर, यसपटक रावल नागरिक उन्मुक्तिका चौधरीसँग पराजित भए ।

०७४ एमालेले जितेको कैलालीको २ (१) मा भने यसपटक नागरिक उन्मुक्तिका रतनबहादुर थापालाई हराउँदै कांग्रेसका कमलबहादुर शाह निर्वाचित भए । एमाले परित्याग गरेर थापाले नागरिक उन्मुक्ति पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ ‘सिट’ मध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ८, नागरिक उन्मुक्तिले ५, एमालेले ३, एकीकृत समाजवादीले ३ र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?