बादी समुदाय : मजदुरी गर्दै जीविका चलाउँदै

लोकपथ
70
Shares
Locals of Badi community holding discussion on their debts, in Chainpur, Bajhang, on Tuesday, July 5, 2016. Photo: THT

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ । उनका लागि जीविका चलाउने एकमात्रै साधन मजदुरी रहेको छ । मजदुरी पाएको बेला दुई छाक खाना खान बादी परिवारले पाउने गरेका छन् ।

मजदुरी नपाइए भोकभोकै बस्नुपर्ने अवस्था पनि आउने गरेको छ । दैनिक मजदुरी पाइने गरेको छैन । हप्तामा एक–दुई दिन बादी परिवारले मजदुरी पाउने गरेका छन् । दुई दिन पाउने मजदुरीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने उनका लागि बाध्यता छ । कृषि र निर्माणकार्यमा बादी परिवारले मजदुरी गर्दै आएका छन् ।

“छोरा–बुहारी पेट पाल्नकै लागि भारतमा गएका छन्” उनले भने, “चौकीदारीको काम पाएको छ, महिनाको रु १० हजार तलब पाउँछु भन्छ, कोठा भाडा र बुहारी नातिको खाना खर्चमा सबै सिद्धिने गरेको छ, त्यसैले घर पैसा पठाउनका लागि पुग्दैन भनेर खबर गरेको छ ।”

घरमा रहेका सात जनाको खर्च चलाउन निकै गाह्रो भएको उनले बताए । “महँगाइ बढेको बढ्यै छ”, उनले भने, “त्यहीअनुसार ज्याला पाउने भए हुन्थ्यो, ज्याला पुरानै छ, दिनभरि काम गरे रु पाँच सय पाउँछौँ, त्यसले घरका लागि रासनपानी पु¥याउन सकिँदैन ।”

बिरामी पालेर बसेको दुःखेसो पोख्दै उनले अगाडि थपे, “सरकारी स्वास्थ्यचौकीमा पाइने औषधिले बिराम ठीक हुनसकेको छैन, खानका लागि पैसाको जोहो गर्न सक्दैनौँ, महँगो अस्पताल पुगेर उपचार गराउने क्षमता छैन, त्यसैले रोग पालेर बस्नुपरेको छ ।”

पहिलाजस्तो गाउँमा माग्न जाने अवस्था नभएको उनी बताउँछन् । माग्न गए कसैले दिँदैनन्, उल्टै हातखुट्टा छँदैछ कमाएर खाउ भनेर कुरा सुनाउँछन्, त्यसैले लाजले माग्न नजाने गरेको उनको भनाइ छ । बादी समुदायले सरकारीतर्फबाट पाउने सेवा–सुविधा भने नपाएको गुनासो गरेका छन् ।

“देशमा कयौँ व्यवस्था बदलिए, हाम्रो अवस्था अहिले पनि उस्तै छ”, श्याम बादीले भने, “सुरक्षित आवास बादी समुदायका लागि बन्छ भन्ने अश्वासन धेरैले दिए, अहिलेसम्म पाएनौँ, रोजगारी दिने कुरा पनि नभएका होइनन्, कसैले पाएका छैनौँ ।”

सरकारी विद्यालयमा बालबालिका पढाउनका लागि शुल्क तिर्दै आएको उनले बताए । बादी समुदायका बालबालिकाले निःशुल्क शिक्षा दिने कुरा सुन्दै आए पनि ५ कक्षामाथिका बालबालिका पढाउन शुल्क बुझाउँदै आएको उनले बताए । उनका अनुसार वार्षिकरूपमा कक्षाअनुसार विद्यालयले शुःल्क लिने गरेको छ ।

“बालबालिका विद्यालय पढाउनका लागि सकिने अवस्था छैन”, सपना बादीले भनिन्, “विद्यालयलाई शुल्क तिर्नुपर्ने अवस्था छँदैछ, एक वर्ष सिलाइ गरेको विद्यालय पोशाक एक बालबालिकाले तीन वर्षसम्म लगाउनुपर्ने बाध्यता छ ।” बालबालिकालाई माथिल्ला कक्षा पढाउन नसक्दा बादी समुदायले आफूसँगै मजदुरीमा लग्ने गरेका छन् ।

बादी बस्तीमा ८ कक्षामाथि पढेको कोही छैन । “माथिल्ला कक्षा पढाउन सक्ने अवस्था छैन”, सपनाले भनिन्, “त्यसैले बीचमै विद्यालय छुटाउनुपर्ने बाध्यता छ ।” सिमेन्टका ब्लक बनाउने कार्यमा मजदुरी गर्दै आएकी सपनाले एक छाक खाएर दुई छाक भोकै बस्नुपर्ने पीडा पोखिन् । बादी समुदायको पुख्र्यौली पेसा माटोका भाँडाकुँडा बनाउने हो । माटोका तमाखु खाने सुल्पा, हुक्का, दियो र मादल बनाएर बादी समुदायले पहिला जीविका चलाउने गरेका थिए ।

आधुनिकताको प्रवेशसँगै माटोका भाँडाकुँडा र मादल बिक्री हुन छाडेपछि बादी समुदायले जीविका चलाउन विकल्प रोज्न थालेका हुन् । विसं २०४३ देखि गर्जमुनिमा बादी समुदायको बसोबास रहेको छ । घरबास रहेको जग्गामा बादी समुदायका केही परिवारका झोपडी र केहीका अर्धपक्की घर बनाएका छन् । वर्षौँदेखि बस्दै आएको जग्गाको बादी समुदायसँग स्वामित्व छैन । बस्ती नजिकै बग्ने स्याली नदीले बर्सेनि जग्गा कटानी गरिरहेको छ । वर्षात्का बेला बादी बस्ती डुबानमा पर्ने गरेको छ ।

बादी समुदायको मागका रूपमा निःशुल्क शिक्षा, रोजगार, स्वास्थ्योपचार, नदी नियन्त्रण, सुरक्षित आवास, जग्गाको स्वामित्व र डुबानमुक्त बस्ती रहेको छ । “नजिकको सरकार भनेको नगरपालिका हो, नगरपालिकाबाट बादी समुदायको उत्थानका लागि लक्षित गरी कुनै पनि कार्यक्रम हालसम्म हुन सकेको छैन”, दीपक बादीले भने, “वडा भेलामा कयौँपटक माग राखे पनि कार्यक्रमलाई प्राथमिकतमा राखिएको छैन ।”

“सुरक्षित आवास त पाउन सकेका छैनौँ”, उनले भने, “खरको छाना हटाउन विगतमा नगरपालिकाले अरु समुदायलाई जस्तापाता वितरण गरे, त्यो पनि हामीसम्म पुगेन ।” विपन्न र गरिबका लागि भनेर ल्याइने स्वरोजगार तालिम र अनुदानका कार्यक्रममा नसमेटिने गरेको बादी समुदायको भनाइ छ । गर्जमुनीस्थित बादी बस्तीमा १० परिवारको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?