वडा अध्यक्षले सुविधाको मोटरसाइकल छोडी, जनतालाई फिल्टर

कञ्चनपुर । जनतालाई सुविधा दिने तहमा पुगेपछि जनप्रतिनिधि आफ्नै तलब भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मूख हुँन थालेपछि चौतर्फी आलोचित हुन थालिरहेको अवस्थामा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ का अध्यक्ष प्रताप बहादुर चन्दले भने सुविधामा दिएको मोटरसाइकल लिन अस्वीकार गरेका छन् । चन्द तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गत आ.व २०७५-७६ को नगरसभाले ११ वटै वडा अध्यक्षलाई मोटरसाइकल खरिद गर्न भनी ३५ लाख विनियोजन गरेको थियो । उक्त रकम लगभग एउटा पुरै वडाको विकास वजेट जतिकै भएको हुँदा जनप्रतिनिधि सुविधाभोगी हुनु नहुँने भन्दै नगरसभामा आपत्ति जनाएका थिए ।

विनियोजित कार्यक्रम अनुसार नगरपालिकाले दशैँको अवसर यमाहाको एस.जेड. आर. १५० सि.सि. मोटरसाइकल खरिद गरी वडा अध्यक्षहरुलाई वितरण गरेको थियो । 

तर, वडा अध्यक्षले भने मोटरसाइकल नलिई आफ्नो वडामा पानी फिल्टर वितरण गर्ने योजना बनाएका छन् । आफ्नो वडाको भकुण्डा भन्ने गाउँको २३ घरधुरीको धारामा अत्याधिक आरसेनिक भेटिएको र वर्षौंदेखि स्थानीयवासी त्यहि दूषित र जोखिमयुक्त पानी पिउन बाध्य भएका कारण आफुले यो योजना बनाएको वडा अध्यक्ष चन्द बताए । 

संविधान कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । नागरीकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न मोटरसाइल बराबर मूल्यको उक्त बस्तीमा ‘बायो स्याण्ड फिल्टर’ वितरण गर्ने चन्दले बताए । त्यसै गरि ‘तराईको ४२–४३ डिग्री गर्मीमा लेबरी मजदुरी गरि छाक काटेर संकलन भएको करबाट मोटरसाईकल चढ्नु भनेको गरिब नगरवासीको ढाडमा चढ्नु हो ।’ चन्दले भने ।

यस क्षेत्रमा बसोबास भएको ४८ वर्ष बन्दा बढि भए पनि अहिले आएर फिल्टर पाए पछि आफुहरुले शुद्ध पानी खान पाउने भएकोमा स्थानीयबासी हर्षित भएको छन् । वडा अध्यक्ष चन्दको यो कमदको भने चौतर्फी प्रशंसा हुँन थालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?