किवी बिक्री नहुँदा किसान चिन्तामा

लोकपथ
78
Shares

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् ।

अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गर्न सुरु गरिरहेका छन् । जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ ।

चिसापानीमा क्षेत्रमा झण्डै १० घरका किसानले व्यावसायिकरुपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताए । बोलुङ्खाकै अर्का किसान भूपराज राईले पनि आफूहरुले उत्पादन गरेको किवीले बजार नपाएको गुनासो गरे । छ वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट किवीको बिरुवा लगेर सुरु भएको किवी खेतीले अहिले राम्रो फल दिन सुरु गरिसकेको उनको भनाइ छ । “उत्पादन त भयो तर बजार पाउन सकेको छैन ,यसको महत्व नबुझेर पनि बिक्री नभएको हुनसक्छ” उनले भने ।

अहिले बोलुङ्खा क्षेत्रमा झण्डै आठ घर कृषकले पहिलोपटक किवी उत्पादन सुरु गरेको पनि राईको भनाइ छ । रौताकै चिसापानीका पाँच घर परिवार पनि किवी खेतीमै आबद्ध छन् । स्थानीय कृषक डोरनाथ बुढाथोकी गाउँमा अरुले किवी खेती सुरु गरेको देखेर आफूले पनि सुरु गरेको तर अहिले बजार नपाएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?