बम्पर गार्ड नहटाउने ५ सय ७४ ओटा सवारी साधन कारबाहीमा

लोकपथ
169
Shares

काठमाडौं । बम्पर गार्ड नहटाएका ५ सय ७४ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज कारबाही गरेको छ ।

सवारी साधनमा जडान गरिएको फलामको बम्पर गार्डले गर्दा बम्परमा जडान भएका एयर ब्यागको सेन्सरले काम नगर्ने हुँदा चालक तथा यात्रुको ज्यान जोखिममा परेको साथै सवारी दुर्घटना हुँदा बम्फर गार्डका कारण पैदल यात्रुलाई बढीक्षतिहुने भएकोले यसलाई हटाउन लागिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा २०७९ मंसिर ९ गते आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मंसिर १४ गतेभित्र सवारी साधनमा राखीएको बम्फर गार्ड हटाउन भनि जानकारी गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
उनका अनुसार बम्पर गार्ड नहटाएका सवारी साधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ उपदफा १ अनुसार कुनै पनि सवारी साधनको रङ्ग, स्वरूप, सिट सङ्ख्या, इन्जीन तथा चेसिस परिवर्तनको कसुरमा कारबाही गर्नेछ ।

यस्तै, प्रवक्ता भट्टका अनुसार आजै तिव्र गतिमा सवारी साधन चलाउने चालकलाई सचेतना कक्षामा सहभागी गराइएको छ । आर्थिक वर्ष २०७८ तथा ७९ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनाहरु मध्ये ३ सय ५५ भन्दा बढी दुर्घटना तिब्रगतिका कारण भएको एवम् सोहि आर्थिक वर्षमा सवारी दुर्घटनामा १ सय ९१ जना को मृत्यु भएकोमा सो मध्ये ५४ जनाको मृत्यु तिब्रगतिमा सवारी साधन चलाएको कारणले भएको थियो ।

तिव्र गतिमा सवारी साधन चलाउदा जिउधनको जोखिम बढेको तथ्याङकलाई आधार मानी तिव्र गतिमा सवारी साधन चलाउने चालकलाई कारबाही गरी आजैबाट सचेतना कक्षामा समेत सहभागी गराइएको हो । यस अघि ट्राफिक प्रहरीले लेन उल्लघनको कसुर, रेड लाइट र मादक पदार्थ सेवनको कसुरमा चालकहरुलाई सचेतना कक्षा लिदै आएको थियो । आजै काठमाडौंको किर्तिपुर,एयरपोर्ट, गठ्ठाघर,सानेपा र भक्तपुरमा गरिएको चेकिङका क्रममा तिव्र गतिमा सवारी साधन चलाउने ९२ जना सवारी चालकलाई कारबाही पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?