निर्वाचन २०७९ : यी दश नेता जो भारी मतान्तरले विजयी भए

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम टुंगिनै लाग्दा यसपटकको निर्वाचनमा लामो राजनीतिक यात्रा तय गरेका ‘हेभीवेट’ नेताले नै पराजयको नमिठो स्वाद चाख्नुपरेको छ । राष्ट्रिय राजनीतिमा भने केही नयाँ दलको उदय भएको छ भने, केही नयाँ उम्मेदवारले संसदमा प्रवेश पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.–२ बाट ३४ हजार ३१२ मतसहित भारी मतान्तरले विजयी भए । उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पराजित गरेका हुन् । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ मत ल्याए । संसदीय निर्वाचनमा पहिलोपटक निर्वाचित हुँदै प्रतिनिधि सभामा पुगेका लामिछानेले तेस्रोपटक संसदीय यात्रामा रहेका श्रेष्ठलाई पराजित गरे ।

०७० को दोस्रो संविधान सभा सदस्यमा श्रेष्ठ कांग्रेसका तर्फबाट मनोनित भएका थिए भने ०७४ को प्रतिनिधि सभामा समानुपातिक सूचीका परेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा २०७८ असार २९ मा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी राज्यमन्त्री नियुक्त भएका थिए ।

नेपाल मजदुर किसान पार्टीकै सचिव प्रेम सुवाल भक्तपुर निर्वाचन क्षेत्र नं.–१ बाट भारी मतान्तरले विजयी भए । उनी फराकिलो मतान्तरले विजयी हुने दोस्रा सांसद हुन् । उनले प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरे ।

सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी भए भने गेलाल ११ हजार ९६८ मतमै सीमित भए । ०७४ मा भक्तपुर क्षेत्र नं. –१ बाट निर्वाचित सुवालले जित हासिल गर्दै तेस्रोपटक संसदीय यात्रा तय गरेका हुन् । उनी ०७० मा नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित समानुपातिक सदस्य हुन् ।

त्यस्तै, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नंं.–५ बाट भारी मतान्तरले विजयी भए । उनी सबैभन्दा बढी मत पाउने उम्मेदवार पनि हुन् । यसपटक उनी २८ हजार ५७६ मतान्तरसहित विजयी भए । ओलीले ५२ हजार ३१९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएर पराजित भए ।

छैटौंपटक संसदीय यात्रा तय गरेका ओलीले ०६४ बाहेक ०४८, ०५१, ०५६, मा झापा (तत्कालीन क्षेत्र नं.–६) बाट लगातार निर्वाचित भए । ०७४ मा झापा ५ बाटै विजयी भएका उनी यसपटक सोही क्षेत्रबाट भारी मतसहित विजयी भएका हुन् ।

अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट २६ हजार ५८८ मतान्तरले विजयी भए । उनले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा नेकपा (एमाले) का नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याए । ०७४ मा पनि शर्मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले पाँचौ पटक संसद यात्रा तय गरेका हुन् । यसअघि उनी २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, २०६४ र ०७० मा संविधान सभा सदस्य भइसकेका छन् ।

रोल्पा क्षेत्र नं.–१ मा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन २५ हजार २२९ मतान्तरले निर्वाचित भए । यहाँ नेकपा (एमाले) का पूर्ण बुढामगरले पराजित भए । पुनले ४१ हजार ७१४ मत प्राप्त गरी निर्वाचित भए भने बुढामगरले १६ हजार ४८५ मत ल्याए ।

यसअघि संसदीय निर्वाचन २०६४ मा ललितपुर क्षेत्र नं. –१ बाट निर्वाचित पुन ०७४ मा रोल्पाबाट नै निर्वाचित भएका थिए । शान्ति तथा पुननिर्माणमन्त्री, अर्थमन्त्री र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसमेत भएका उनले तेस्रोपटक चुनाव जिते ।

त्यस्तै, यसपटकको संसदीय निर्वाचनमा फराकिलो मतान्तरले विजयी हुनेमा मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–३ बाट नेपाली कांग्रेसका सुनिलकुमार शर्मा पनि छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरेका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याए भने, ढकालले २५ हजार ८९५ मत ल्याए ।

ललितपुर क्षेत्र नं.–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की भारी मतान्तरले विजयी भइन् । उनले लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पहिलो पटक पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी हुन् । उनी आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पछि पार्दै निर्वाचित भइन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत ल्याएर पराजित भए ।

यसपटक निकै चासोको रुपमा हेरिएको सप्तरी निर्वाचन क्षेत्र नं.–२ हो । यसक्षेत्रबाट प्रतिनिधि सभामा फराकिलो मतान्तरले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत विजयी भए । सीके राउत ३५ हजार ४२ मतसहित निर्वाचित भए । उनीसँग जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भए ।

यादवले १६ हजार ९७९ मतमै सीमित भए । राउत र यादवबीच १८ हजार ८३ मतान्तर छ । ०६४ यताका तीन निर्वाचनमा विजयी भई संसदमा प्रतिनिधित्व गरिरहेका यादवले यसपटक पराजय ब्यहोरे । ०६४ र ०७० मा सुनसरी ५ बाट निर्वाचित उनी ०७४ मा भने सप्तरी–२ बाट विजयी भएका थिए ।

त्यस्तै, गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं १६ हजार ६४३ मतान्तरले विजयी भएका छन् । बजगाईँले ३३ हजार ४२८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रामशरण बस्नेतले १६ हजार ७८५ मत ल्याएर पराजित भए ।

रामेछाप निर्वाचन क्षेत्र नं.–१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत प्राप्त गरी विजय हासिल गरे । उनले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पछि पारे । ढुंगेलले ३० हजार ७३० मत पाएर हार ब्यहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?