सुदूरपश्चिममा मुख्यमन्त्री बन्नेको लिगलिगे दौड : विष्ट र भट्टबीच तीव्र प्रतिष्पर्धा

काठमाडौं । प्रदेश सभा निर्वाचनको मत परिणाम आएसँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरुले लबिङ तीव्र बनाउन थालेका छन् । मुख्यमन्त्री बन्ने दौडमा सत्ता गठबन्धनबाट प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का नेताहरु अघिल्लो पंक्तिमा छन् ।

कांग्रेसबाट दिवानसिंह विष्ट दौडमा रहँदा माओवादीबाट खगराज भट्ट चर्चामा छन् । भट्ट प्रदेशसभा सदस्यमा डडेलधुरा (क) र विष्ट कञ्चनपुर १ (ख) बाट निर्वाचित हुन् । प्रदेश सरकारको दोस्रो कार्यकालको नेतृत्वका लागि यी दुई मध्ये कसले उछ्ट्यिाउँछ भन्ने चासो अहिले सुदूरपश्चिममा बढेको छ ।

प्रदेशमा प्रत्यक्षतर्फको ३२ मध्ये गणना गरिएको ३० सिटमा ११ सिट जित्दै कांग्रेस पहिलो, ८ सिटसहित नेकपा (माओवादी केन्द्र) दोस्रो, ५ सिटसहित नागरिक उन्मुक्ति पार्टी तेस्रो र ३ सिटसहित नेकपा (एमाले) ले चौथो स्थानमा छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी २ सिटसहित पाँचौमा छ भने, डडेलधुरा १ (२) बाट स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी प्रदेश सभामा विजयी भएका छन् ।

जोशी एकीकृत समाजवादीका बागी उम्मेदवार हुन् । अब बाजुराका दुई निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ र समानुपातिकको पनि केही दिनमा टुंगो लाग्नेछ । हालसम्म बाजुराबाहेक सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम टुंगोमा पुग्नै लाग्दा प्रदेशमा सरकारको गठन र नेतृत्व चयनको विषयले चर्चा पाएको हो ।

मुख्यमन्त्रीको प्रबल दाबेदारको रुपमा रहेका भट्ट र विष्ट दुबै जना यसपटक प्रदेश सभाका ओर्लिएका हुन् । यसअघि कांग्रेसबाट मुख्यमन्त्रीको प्रबल सम्भावना रहेका कांग्रेस सुदूपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि प्रदेशको मुख्यमन्त्रीमा विष्टको भाग्य चम्किने सम्भावना बढेको हो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर १ बाट निर्वाचित विष्ट ०७४ को प्रतिनिधि सभा सदस्यमा भने माओवादीकी बिना मगरसँग पराजित भएका थिए । कांग्रेसका बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका आकांक्षी छन् । संविधान सभाका सदस्यसमेत रहेका उनी कांग्रेस कञ्चनपुर जिल्ला सभापति हुन् ।

सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासनसहित डडेलधुरा (१) बाट प्रदेश सभामा पठाएको दाबी भट्टको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा आयोजित एक चुनावी सभामा सम्बोधन गर्ने क्रममा पनि गठबन्धनले जिते भट्टलाई नै प्रदेश मुख्यमन्त्री बनाउने बाचा गरेका थिए । त्यसैले पनि भट्टको दाबी बलियो मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका भट्ट त्यसबेला देउवासँगै पराजित भएका थिए । यसपटक उनी प्रदेशसभामा ओर्लिएका हुन् । उसोत, कैलाली २ (क) बाट निर्वाचित कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीको दाबेदारी पेश गरेका छन् । बैतडीबाट निर्वाचित शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित विक्रमसिंह धामीले पनि मुख्यमन्त्रीमा दाबी थालेका छन् ।

शक्तिको प्रयोग गरी कैलाली ५ (ख) बाट निर्वाचित आरजु राणाका स्वकीय सचिव प्रकाशबहादुर देउवा पनि मौकामा चौका हान्ने दाउमा छन् । कैलाली १ (ख) बाट उम्मेदवार रहेका कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका निवर्तमान नेता एवं केन्द्रीय सदस्य डा. रणबहादुर रावल र डडेलधुरा प्रदेश (२) बाट उम्मेदवार रहेका गोविन्द बोहरा पराजित भएपछि अरुले मौका खोजेका हुन् ।

संघीयता कार्यान्वयनको पहिलो चरणमै सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षे कार्यकालभर नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको थियो । यसपटक प्रदेशमा पहिलो भएको कांग्रेसले सहजै सरकारको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा भने देखिदैन । गठबन्धनलाई सरकार बनाउन सहजै सिट पुग्ने देखिन्छ ।

कसैगरी गठबन्धनमा सहमति नभएमा भने पाँच सिटसहित तेस्रो बनेको नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने अवस्था छ । यता, प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमालेले पहिलो मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?