प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

लोकपथ
78
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ ।

ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो ।

प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका आवेदन आगामी फागुन १४ गते खोलिनेछ । हाल प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा सौर्य बिजुली खरिद गर्दै आएको छ ।

प्रस्तावित व्यवस्था अनुसार अब प्राधिकरणले प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसामा खरिद गर्नेछ । यो अधिकतम महसुल दर हो । प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार खुल्ला प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्न लागिएको हो ।

हिउँदमा नदीमा जलसतह घट्ने र उत्पादन कम हुने भएकाले त्यसको विकल्पमा सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको भए पनि प्रभावकारी काम हुनसकेको छैन ।

सौर्य ऊर्जामा लगानीकर्तालाई आर्कषित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धाका माध्यमबाट खरिद गर्न लागिएको हो । विद्युत् विकास विभागका लागि हालसम्म कूल ४४ सौर्य परियोजनाले सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाको क्षमता एक हजार दुई सय ३९ मेगावाट छन् ।

त्यस्तै, कूल २१ परियोजनाले निर्माणका लागि अनुमति लिएका छन् । ती आयोजनाको क्षमता एक सय ३३ मेगावाट छन् ।

त्यस्तै, १३ परियोजनाले सर्वेक्षणको आवेदन दिएका छन् । ती आयोजनाको क्षमता एक सय ३२ मेगावाट छ । निर्माणका लागि अनुमति माग्दै आवेदन दिएका आयोजनाको संख्या तीन छ । ती आयोजनाको क्षमता १५ मेगावाट छ ।

हाल निजी क्षेत्रका विभिन्न पाँच परियोजनाबाट कूल २४ मेगावाट बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?