काठमाडौं महानगरपालिकाका १८ नगर प्रहरी गम्भिर घाइते

लोकपथ
91
Shares

काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाउने क्रममा काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बल प्रमुखसहित अठार जना नगर प्रहरी गम्भिर घाइते भएका छन् । बाग्मती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा थापाथलीस्थित बाग्मती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा झडप पर्दा स्थानीयले गरेको ढुंगामुढा प्रहारबाट १८ जना नगर प्रहरी घाइते भएको महानगरपालिका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् ।

मानन्धरले महानगरका तर्फबाट एक विज्ञप्ति जारी गर्दै बाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट बस्ती खाली गराउँन भन्दै माग भइ आएकोले सहयोग प्रहरी बलका प्रमुखसहितको नगर प्रहरीको टोलीले सम्बन्धित पक्षसँग समन्वय एवम् सूचना सम्प्रेषणको तयारी गर्दै गर्दा सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुडा जस्ता धारिलो हतियार, ढुंगा, मुढा सहितका सामाग्री लिएर उपस्थित भएको र आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित अठार जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरिएको छ ।

घटनामा नगर प्रहरी सर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रुपमा घाइते बनाएको र बोगटीसहित तीन जना नगर प्रहरीको आईसीयूमा उपचार भइरहेको पनि विज्ञप्ति मार्फत उल्लेख गरिएको छ । अन्य नगर प्रहरीहरुसमेत उपचारत छन् ।

सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबाट पटक पटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भएतापनि महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने दुःखद घटना घट्न पुगेको महानगरले जनाएको छ । सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाएर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको विज्ञप्तिमा भनिएको छ ।

अनधिकृत संरचना हटाउने कानून बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई महानगरले अनुरोध गरेको र अनधिकृत संरचना हटाउने कार्यमा सहयोग, समन्वय र सहकार्य गर्नसमेत सरोकारवाला निकाय, व्यक्ति, सञ्चार जगत तथा सर्वसाधारणमा महानगरले अपिल गरेको प्रवक्ता मानन्धरद्वारा जारी विज्ञप्तिमा भनिउको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?