विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

लोकपथ
0
Shares

बझाङको दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ ।

उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो ।

गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । “२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ”, उनले भने, “रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।”

गोरङका प्रकाश मात्रै होइन, उनीजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसोमा लाग्दा स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्टले भनिन्, “लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।” टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उनले बताइन् ।

उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन् । “ टाढा भएकै कारण केटा इन्डिया (भारत) जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ । केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,” उनले भनिन् ।

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन् । “यसमध्ये पनि दुई÷चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्”, उनले भनिन्, “घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।”

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन् । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन् ।

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए । “गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ”, उनले भने, “रिम, धामीगाउँ जता गए पनि पाँच÷छ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।”

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । “नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौँ”, पूर्वविद्यार्थी सुनिता विष्टले भनिन्, “१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने छ जना मात्रै भयौँ । स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए ।”

उनका अनुसार उनीसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे । “घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।”
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताए ।

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनले भने, “अहिले छात्रावास छैन । यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौँ । के–के नमिलेर त्यस्तै भयो ।” उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । “तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ ।” उनले भने । त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?