शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी, एक जना पक्राउ

लोकपथ
39
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो ।

खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ ।

उक्त स्थानको एक सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर पक्राउ परेका छन् । उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ । तीनैवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशङ्का रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?