जाजरकोट । जाजरकोटका दुइवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजीव विक्रम शाह र बेदराज सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका शाह प्रदेश सभा (ख) बाट १६ हजार ४० मतसहित निर्वाचित भएका छन् ।
शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारेका छन् । एमाले उम्मेदवार शाहीले १० हजार ५३० मत पाएका छन् । २०७० सालमा संविधान सभा सदस्य बनेका शाह ०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतसँग पराजित भएका थिए ।
अहिलेको गठबन्धनअनुसार बस्नेत प्रतिनिधि सभामा लडेपछि राजीव प्रदेशमा लडेका थिए । जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बेदराज सिंहले १८ हजार ५४३ मत ल्याएका छन् । कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंहले एमालेका उम्मेदवार डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पछाडि पारेका हुन् ।
एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । प्रदेश सभा सदस्यमा निर्वाचित सिंह ०७४ को निर्वाचनमा पनि प्रदेशमा लडेका थिए । त्यतिबेला माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया