तारजाली र सिसी क्यामेरासहितको मतगणनास्थल तयार

लोकपथ
39
Shares

बागलुङ । बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ ।

जिल्लामा दुई स्थानमा मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा.दिवाकर भट्टले जानकारी बताए ।

उनकाअनुसार मतपेटिका राख्ने कोठा र मतगणना गर्ने कोठामा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने गणनास्थलमा तारजालीको व्यवस्था मिलाइएको छ । यस्तै मतगणना स्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर मिलाइएको छ ।

मतगणना स्थलको सुरक्षासँगै हुन सक्ने सम्भावित घटनाबाट बच्न तारजाली र सिसी टिभी क्यामेराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा तीन स्थानमा र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा दुई स्थानमा मतगणना गर्ने जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मत परिणाम छिटो सार्वजनिक गर्नका लागि क्षेत्र नं १ को तीन स्थान र क्षेत्र नं २ को दुई स्थनामा मत गणना गर्ने व्यवस्था गरिएको हो । भट्टले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र समानुपातिकतर्फको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने बताए । उनले सभाहलभित्र तीन स्थानमा मतगणना गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

मतगणना स्थानमा प्रत्येक टोलीमा एकजना निर्वाचन अधिकृत, दुईजना गणक र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । मतगणनास्थलको सुरक्षाका लागि १० जनाको नेपाल प्रहरीको टोली र त्यसबाहिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा गर्नेछ ।

यस्तै, निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङ नयाँ सहरी आयोजनाको सभाहल क्षेत्र नं २ तर्फको मतगणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनकाअनुसार मतगणनास्थल रहेको सभाहलमा दुई स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

दुवै स्थानमा मतगणनाका लागि तयारी सम्पन्न भएको बताइएको छ । जिल्लामा दुई निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?