परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताए ।

आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरे । निर्वाचित भएपश्चात् काठमाडौं क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा कुल ७० हजार नौ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिका भित्रका कूल १५ वटा वडा समेटिएका छन् ।

प्रदेशसभा १ तर्फ काठमाडौं महानगर–२, ४ र ५ पर्दछन् । प्रदेशसभा २ तर्फ काठमाडौं महानगर–३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?