मतदान गर्न गाउँ फर्किए मतदाता

लोकपथ
0
Shares

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान हुन अब केही घण्टा मात्र बाँकी छ । मतदाता आफ्नो मताधिकार प्रयोग गर्न व्यग्र प्रतिक्षामा छन् । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मको अवधिमा पतपेटिकामा खस्ने मतले आउँदो पाँच वर्षलाई देशको नेतृत्व कसलाई सुम्पने भन्ने फैसला गर्नेछ ।

मतदानपूर्वको सबै व्यवस्थापकीय तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका दुई सय ३१ वटै मतदान केन्द्रमा ‘बुथ’ निर्माणको काम सकिएको छ । सर्वदलीय बैठकदेखि मतदानकेन्द्र केन्द्रित तयारीका सबै काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । ‘मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तम्तयार अवस्थामा छन्, समयमै मतदान सुरु हुन्छ’, उनले भने ।

निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका थिए । मतदानका लागि जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किएका छन् । काठमाडौंबाट मत दिन गलकोट आएकी हरिकला मरासिनीलेले हरेक चुनावमा मत दिन आफू गाउँ आउने गरेको सुनाइन् ।

‘मन परेको पार्टी र उम्मेदवारलाई मत दिनु व्यक्तिको राजनीतिक अधिकार हो, यसको सदुपयोग गर्न टाढादेखि गाउँ आएकी छु’, उनले भनिन् । गत स्थानीय चुनावमा पनि परिवारसहित आएर मत खसालेको मरासिनीले बताइन् । गाउँघरमा स्थानीय चुनावको भन्दा आम चुनावको रौनक केही कम हुने गरेको कतिपयको बुझाइ छ । स्थानीय चुनावमा जसरी जिल्ला बाहिर रहेका मतदाता यो चुनावमा गाउँ भित्रिएका छैनन् ।

जसका कारण मत पनि कम खस्न सक्ने आँकलन गरिएको छ । स्थिर समय चलिरहेका कारण दलका गतिविधि भने ठप्प छन् । निर्वाचन गराउन जिल्लाभर गरी १८ सय ५४ कर्मचारी र नौ सय २६ स्वयंसेवक खटिएका छन् । यहाँ कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता छन् । क्षेत्र नं १ मा ९६ हजार छ सय ६५ र क्षेत्र नं २ मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । महिला मतदाता ९८ हजार छ सय ४३ र पुरुष मतदाता ९३ हजार पाँच सय ८४ छन् ।

प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि यहाँ ३१ उम्मेदवार चुनावी मैदानमा छन् । मतदान सँगसँगै मतगणनाका लागि स्थल निर्माणदेखि अन्य तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ ।

सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । जिल्लाका कूल एक सय छ मतदान स्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारिएको छ । मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले राज्यका चार वटै सुरक्षा निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको बताए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ ।

मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहनेछ । मतदानको पूर्वसन्ध्यासम्म आइपुग्दा जिल्लाभरको अवस्था सौहार्द र शान्तिपूर्ण रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?