फेक समाचार भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य

अत्तालिएका गिरोहले भ्रम फैलाए, गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ

लोकपथ
78
Shares

काठमाडाैँ । नेपालका केहि चलेका अनलाइन न्युज पोर्टलहरूको नक्कली फोटोसप तयार गरी गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले बनाएका भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।

दुई पार्टीले नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् ।

साथै अनलाइन न्युज पोर्टलहरूको नक्कली फोटोसप तयार गरी गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले खडा गरिएको कु प्रचारको घोर निन्दा र भर्त्सना गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले  फेसबुकमार्फत केही बेर अघि बताएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’

दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको दुई पार्टीले ठहर गरेको छ ।

यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ भने साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारवाहीका लागि समेत सरकारसँग माग गरिएको छ।

कांग्रेस–माओवादीको संयुक्त वक्तव्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?