मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

लोकपथ
78
Shares

म्याग्दी । गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो । यसपटक बगरको कैलाश आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र स्थापना भएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मतदानका लागि तीन दिनको समय व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । गाउँमै मतदान केन्द्र स्थापना भएपछि समयको बचत र सहज भएको स्थानीयबासी चित्रबहादुर तिलिजाले बताए ।

“मतदान हुनुको अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुग्ने र भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्किएर त्यहीँ बास बस्नुपर्ने र हिँडेको तेस्रो दिन मात्र घर पुग्ने गरेका थियाैँ,” उनले भने “यसपटक गाउँमै केन्द्र भएपछि सहज भएको छ । गाउँले खुसी भएका छन् ।”

धौलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती सिमकोस गाउँमा ५० घरधुरीको बसोबास छ । साविक मुदी गाविस–९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र यसअघि मुदीको बुद्धिविकास मावि थियो ।

त्यहाँ जिल्लामा सबैभन्दा कम एक सय ५७ मतदाता छन् । गत स्थानीय तह चुनावमा ५० जनाले मतदान गरेका थिए । विसं २०५४ को स्थानीय चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयबासी मतदान केन्द्रमा जान सकेका थिएनन् ।

ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको थियो । पशु गोठमा बस्ने गोठाला प्नि मतदानबाट बञ्चित हुने गरेका थिए । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर नौ घण्टा पैदल हिँडेर मतदान अधिकृत गिरिप्रसाद छन्त्यालको टोली बगर पुगेको छ ।

पहिलो पटक गाउँमै मतदान गर्न पाउँदा बगरबासी खुसी र उत्साहित भएका उनले  बताए । अपायक पर्ने र भौगोलिकरूपमा विकट बस्तीका लागि स्थानीय तह चुनावपछि आठ ठाउँमा नयाँ मतदान स्थल थपिएको थियो ।

म्याग्दीका एक सय २० वटा मतदान केन्द्रमा आइतबार हुने चुनावको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । नौ सय ५६ कर्मचारी र दुई हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा परिचालित भएका छन् ।

६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?