तेह्रथुममा निर्वाचनको सम्पूर्ण तयारी पूरा

लोकपथ
78
Shares

तेह्रथुम । तेह्रथुममा आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

तेह्रथुममा ५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल रहेका छन् । त्यस्तै ९३ स्थायी र एउटा अस्थायी केन्द्र रहेको छ । सात महिलासहित जम्मा ९४ मतदान अधिकृत निर्वाचनमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान प्रक्रिया सम्पन्न गर्न जिल्लामा खटिएकामध्ये २० जना सहायक मतदान अधिकृत महिला छन् ।

तेह्रथुमका लागि महिला दुई सय ३२ र पुरुष पाँच सय १५ गरी जम्मा सात सय ४७ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी निराज शर्माले जानकारी दिए ।

म्याङलुङ नगरपालिकामा १० मतदानस्थलमा १९ केन्द्र, लालीगुराँस नगरपालिकामा नौ मतदानस्थलमा १८ केन्द्र, मेन्छ्यायेम गाउँपालिकामा छ मतदानस्थलमा आठ केन्द्र, फेदाप गाउँपालिकामा १० मतदानस्थलमा १६ केन्द्र, छथर गाउँपालिकामा आठ मतदानस्थलमा १५ मतदान केन्द्र र आठराई गाउँपालिकामा १३ मतदानस्थलमा १७ वटा मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?