काठमाडौं । देशमा निर्वाचनको माहोल चलिरहँदा विदेशमा रहेका नेपालीहरुले आफूलाई बेवास्ता गरिएको भन्दै दुखेसो पोखेका छन् । ‘वर्षौंदेखि रोजगारी वा अन्य कामका शिलशिलामा विदेशमा रहेका नेपालीहरुले आफूहरुलाई सधैभरी मौन भएर बस्नुपर्ने बाध्यता’ मा पारिएको भन्दै एनआरएनए माल्टाले आपत्ति जनाएको हो ।
एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले विदेशमा बस्ने नेपालीको रेमिट्यान्सले देश चलाउने तर देशलाई आर्थिक सम्पन्नताका लागि पहल गर्ने नेपालीलाई मताधिकार नदिने सरकार र निर्वाचन आयोगको निर्णयले दुःखी तुल्याएको बताए ।
अर्यालद्वारा जारी विज्ञप्तिमा ‘२०७५ सालमै सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि पनि मतदानको व्यवस्था गर्न भन्दै गरेको निर्देशनात्मक आदेश लागू गर्न निर्वाचन आयोग तयार नहुँदा हामी मताधिकारबाट बञ्चित भएको उल्लेख गरिएको छ ।’
निर्वाचनमा ठूलो प्रभाव पार्न सक्ने मतदताहरुलाई यसरी मौन बसाएर हामीले पठाएको रेमिट्यान्स मात्र चलाउने शैलीप्रति दुःख व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा चुनावलाई महान पर्वको रुपमा हेर्दै सफल र यसबाट चुनिएर आउने प्रतिनिधिले अर्को निर्वाचनमा हामी जस्ता मतदातालाई पनि मताधिकार प्रयोगको सुनिश्चितता गराउन सकून् भन्ने कामना गरिएको छ ।
यस अघि पनि पटक पटक विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने भन्दै सम्भाव्यता अध्ययनका लागि निर्वाचन आयोग र नेपाल सरकारका अधिकारीहरु विदेश भ्रमणमा गएका थिए । तर, आयोगले कानुनी र अन्य जटिलता देखाउँदै उक्त व्यवस्था गर्न सकेको छैन् । अहिले मौन अवधि चलिरहँदा विदेशमा रहेका नेपालीहरुले आफ्नो मौनता तोडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया