निर्वाचन पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । निर्वाचन भन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो ।

समितिले निर्वाचन पूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ । निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ । समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली,उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहीता पालना, सुरक्षा प्रवन्ध,मतपत्र,मतदान केन्द्र,मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको हो ।

निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताइन् । उनले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरु टाँस्ने तथा प्रचारप्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताइन् । उनले आफूलाई एक जना भन्दाबढी उम्मेदवारले भोट नमागेको बताएकी छिन् ।

कार्कीले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा उम्मेद्वार र पार्टीहरु सजक देखिएको बताइन् । उनले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा आयोग कडा रुपमा प्रस्तुत भएको जानकारी दिइन् । कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको भन्दै निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताइन् । उनले पैसाको चलखेल हुने भनिएपनि अहिले देखिने गरी कतै पनि त्यस्तो नदेखिएको बताइन् ।

त्यस्तै,पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए । उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताएका छन् । उनले राजनीतिक पार्टीका उम्मेद्वारहरुले निर्वाचन आंचारसंहीता अनुसार मौन अवधिको राम्रो रुपमा परिपालना गरेको देखिएको जानकारी दिए ।

श्रेष्ठले मौन समय भनेको मतदाताहरु निर्वाचनका न्यायाधीशहरु भएकाले आफूले पाएको सूचनाहरुको आधारमा आफ्नो विवेक प्रयोग गर्नलाई सोच्ने समय भएको बताए । उनले मौन समय अविचलित,अप्रभावित र हस्तक्षेपरहीत समय भएको बताए । उनले विगतको तथा स्थानीय तहको निर्वाचनभन्दा निर्वाचन प्रणाली विकसित र व्यवस्थित हुँदै गएको पाएको पनि बताएका छन् । उनले निर्वाचन आयोगको निरन्तर प्रयासले निर्वाचन बढी खर्चिलो हुन नपाएको बताए ।

त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताएका छन् । उनले निर्वाचन व्यवस्थापनमा सुधार,राजनीतिक दलहरुले आचारसंहीताको बाटोमा हिँडेको र कर्मचारीहरुमा जागरुकता आएको बताए । उनले विकशित मुलुकको जस्तो निर्वाचन प्रणाली होस् भन्ने सबैको अपेक्षा रहेको उल्लेख गरे ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा हालसम्म कतै समस्या नआएको बताए । उनले समय अनुसार नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको भन्दै निर्वाचनसम्बन्धी अफवाह फैलाउनसक्ने सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?