निर्वाचनको मौन अवधि प्रारम्भ

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घन्टालाई स्थिर समय भनिएको छ  । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइनेछैन ।

मंसिर ४ बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदान अघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जानकारी दिए  ।

‘कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ,’ उनले भने । आयुक्त भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताए ।

सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?