निर्वाचन प्रचारशैलीमा नै परिवर्तन

लोकपथ
42
Shares

हेटौंडा । यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारले अनुशासन र मर्यादामा रहेर प्रचारप्रसार गरेको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले बताएका छन् । प्रचारप्रसार गर्न पाउने समयको अन्तिम दिनसम्म आइपुग्दा आचारसंहिता उल्लंघनका उजुरीहरु नआएको बताउँदै उनले प्रचारशैलीमा नै परिवर्तन आएको बताए ।

बागमती प्रदेशका १३ वटै जिल्लामा आचारसंहिताका विषयमा छिटपुटबाहेक यस्तो किसिमको उजुरी र अप्रिय घटना नभएको प्रमुख पोखरेलको भनाइ छ । यसपटकको निर्वाचनमा विगतको तुलनामा धेरै भिन्नता पाएको उनले बताए । प्रमुख पोखरेलका अनुसार आचारसंहिता उल्लंघन भयो भनेर दललाई फोन गर्न र पत्र काट्न नपर्नुले यो निर्वाचन मर्यादित र अनुशासित भएको छ, उनले भने ।

उनले प्रचारशैलीमा परिवर्तन आएका कारण पनि बजार सफा र स्वच्छ रहेको बताए । सामाजिक सञ्जालले प्रचारशैलीमा ल्याएको परिवर्तनले प्रचार प्रसारशैलीलाई शिष्टता प्रदान गरेको उनको भनाइ छ । सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा उम्मेदवारका एजेण्डामाथि छलफल हुने र प्रष्ट पारिने कार्य यो पटकको निर्वाचन प्रचारप्रसारका क्रममा भेटिएको हेटौंडा–४ का स्थानीय एवं पूर्वशिक्षक ऋषिराम पोखरेलले बताए ।

यसैगरी मकवानपुर कैलाश गाउँपालिका–९ की पार्वती बर्तौलाले पनि यो चुनाव फरक जस्तो महसुस भएको बताइन् । पहिलेका चुनाव प्रचारप्रसारमा बालबालिका देखिने गरेको भएपनि यो पटक भने यसमा यदाकदा छिटपुटबाहेक यस्ता दृश्य नदेखेको बताइन् । तर, दैनिकरुपमा मतदाता सर्वेक्षणको नाममा, अपिल लगाएका श्रब्य, दृश्य भने सामाजिक सञ्जालमा पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?