काठमाडौं । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ आजबाट शुरु भएको छ ।
मुख्य विधि अन्तर्गत पहिलो दिन आज आइतवार (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेशलगायत मुलुकभरका व्रतालुले यो पर्व शुरु गर्दैछन् ।
तिहार समापनको एक दिनपछि शुरु हुने महापर्व छठमा ठेकुवा, भुसुवा, पुरी र खाजालगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धताकासाथ चढाइने गरिन्छ ।
दोस्रो दिन सोमवार खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।
यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।
सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
विधि
छठको पहिलो दिन नहाय–खाय गरि मनाइन्छ । आइतवार (चतुर्थी) को विधिमा व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन् ।
दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ ।
गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन ।
खरनाको दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।
तेस्रो दिन (षष्ठी), गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटी सोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं छठको लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुग्ने गर्छन ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् ।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ ।
व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।
महत्व
छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ भने अहिले मुलुकभर छठ पर्व मनाइने गरिन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
यश पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी हुन्छ र यो पर्व विधिवत मनाउँछ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
इतिहास
सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । सूर्यलाई आदिदेवता पनि भनिन्छ ।

मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ ।
रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।
साथै चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।
त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।
कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया