लमजुङमा निर्वाचनका लागि कर्मचारी परिचालनमा समस्या

लोकपथ
0
Shares

लमजुङ । लमजुङमा आसन्न निर्वाचनका लागि कर्मचारी परिचालनमा समस्या भएको छ । जिल्लाका स्थानीय तहले कर्मचारीको एकिन विवरण नदिँदा कर्मचारी परिचालनमा समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको हो ।

निर्वाचनमा कर्मचारी परिचालनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सवै स्थानीय तहमा कर्मचारी विवरण माग गरेको थियो । सो अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पठाएको कर्मचारीको विवरण तथ्यपरक नभएकाले कर्मचारी परिचालनमा समस्या भएको लमजुङका सहायक निर्वाचन अधिकृत विश्वराज कुइँकेलले बताए ।

‘स्थानीय तहले पठाएको कर्मचारीको विवरणमध्ये कतिपयको सरुवा भइसकेको रहेछ’ उनले भने, ‘कतिपय अवकास लिइसकेका कर्मचारीको पनि नाम पठाएका छन् ।’ सो बाहेक कतिपय कर्मचारीको तह उल्लेख गर्दापनि तथ्यपरक नरहेकोले समस्या सिर्जना भएको कुइँकेलले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि कर्मचारी परिचालनका सन्दर्भमा प्रारम्भिक सूचि सार्वजनिक गरेपछि सर्वत्र गुनासो आएको सहायक निर्वाचन अधिकृत कुइँकेलले बताए । यसअघि सार्वजनिक भएको प्रारम्भिक सूचिलाई सुधार गरी पुनः प्रकाशन गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक भएको कर्मचारी परिचालन विवरण अनुसार जिल्लामा करिव १५ सय कर्मचारी परिचालन हुने भएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीसहित जिल्लाका सबै मतदान केन्द्र र स्थलमा एक हजार चारसय ९३ जना कर्मचारी परिचालन हुने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा एकएकजना मतदान अधिकृत, एक एक जना सहायक मतदान अधिकृत र आवश्यकताको आधारमा सहायक कर्मचारी गरी सातदेखि आठ जनासम्म कर्मचारी खटाइने भएको छ । सो बाहेक प्रत्येक मतदान केन्द्रमा सहयोगीका रुपमा एक एक जना कर्मचारी पनि खटाइने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आगामी निर्वाचनमा जिल्लाका चारसय ५२ जना शिक्षक पनि निर्वाचनका लागि परिचालन हुने भएका छन् । निर्वाचनमा परिचालन हुने शिक्षक मध्ये ३२ जना मतदान अधिकृत र ३० जना सहायक मतदान अधिकृतको रुपमा खटिने छन् भने अन्य शिक्षकहरु सहायक कर्मचारीको रुपमा खटिने भएका हुन् ।

जिल्लामा एकसय २८ मतदान स्थलमा एकसय ८६ मतदान केन्द्र रहेका छन् । सो बाहेक सदरमुकाम बेसीशहरमा दुईवटा अस्थायी मतदान केन्द्र कायम भएको छ । जिल्लामा कायम भएका मतदानस्थल र केन्द्र मध्ये सबैभन्दा धेरै बेसीशहरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?