कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

लोकपथ
65
Shares

कपिलवस्तु । कपिलवस्तुका तीन प्रतिनिधि सभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार छन् । खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ । एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कांग्रेस ठूलो पार्टी हो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार दुई सय ७१ मत पाएको छ । तर गठबन्धनले माओवादी केन्द्रका केन्द्रीय सचिव खनाललाई उम्मेदवार बनाएको छ ।

विसं २०७४ मा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित खनाल सत्ता गठबन्धनबाट पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । त्यो चुनावमा खनालले २९ हजार सात सय ९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत ल्याएका थिए ।

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँले ११ हजार आठ सय १२ मत ल्याएर तेस्रो बनेका थिए । मत संख्याका आधारमा माओवादी केन्द्र यहाँ चौथो शक्ति हो । स्थानीय तहमा माओवादी उम्मेदवारले पाएको मत नौ सय हजार तीन सय ३८ छ । यहाँ जनता समाजवादी पार्टी (जसपा) ले १३ हजार पाँच सय १० मत पाउँदा नेकपा (एकीकृत समाजवादी) को मत यहाँ तीन हजार सात सय २२ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन हजार चार सय २४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई हजार चार सय ८० मत थियो । गठबन्धनविरुद्ध कांग्रेसका जिल्ला सदस्य गुरुङले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचार अभियान जारी राखेका छन् । गुरुङले गठबन्धनभित्रको मत काट्ने अड्कलबाजी छ । स्वतन्त्ररुपमा उम्मेदवारी दिएका गुरुङ आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

कांग्रेसलगायत अन्य पार्टीको समर्थनबाटै आफूले चुनाव जित्ने उनको दाबी छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा यहाँ २६ हजार आठ सय २३ मत ल्याएको थियो । विसं २०५६ को निर्वाचनमा एमाले र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट चुनाव जित्नुभएका दानबहादुर चौधरी हाल एमालेमा छन् । हालै एमाले प्रवेश गरेका चौधरी पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) मा छन् ।

चौधरीको आवगमनले एमाले बलियो देखिएको छ । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधु सुदनशरण चौधरी पनि एमालेमा आएका छन् । प्रदेशसभा ‘२’ का उम्मेदवार समेत रहेका चौधरीको एमाले प्रवेशले अवस्था मजबुद बनाएको आंकलन गरिएको छ ।

सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारजस्तै चर्चामा जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरी पनि छन् । जनमत पार्टीबाट प्रतिनिधिसभा–१ मा उम्मेदवार बनेका चौधरीले दक्षिणी भेगको बढी मत ल्याउने अनुमान गरिएको छ । वाणगङ्गा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका–५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

स्थानीय तहमा वाणगङ्गा नगरपालिकाका प्रमुख, उपप्रमुख एमालेले जितेको थियो । मायादेवी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष कांग्रेसले जित्दा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ । कपिलवस्तु नगरपालिका भने जसपाले मेयर र उपमेयर जितेको छ । कपिलवस्तुका बहुसंख्यक वडा भने क्षेत्र नं २ मा पर्छन् ।

वडागत आधारमा वाणगङ्गा नगरपालिकाका–११ वडामध्ये वडा नं २, वडा नं ४, वडा नं ७, वडा नं ८, वडा नं ९, वडा नं १० एमालेले जितेको छ । कांग्रेसले वडा नं १, वडा नं ५, वडा नं ६ र वडा नं ११ मा जित हात पारेको छ । माओवादीले वडा नं ३ मात्र जितेको छ । मायादेवी गाउँपालिकामा आठ वडा छन् । जहाँ जसपाले चार वडा जितेको छ । जसपाले वडा नं ३, वडा नं ४, वडा नं ६, वडा नं. ७ जितेको छ ।

माओवादी वडा नं १, वडा नं ५ र वडा नं ८ जितेको छ । कांग्रेसले भने वडा नं २ मात्र जितेको छ । शुद्धोधन गाउँपालिकाका छ वडा मध्ये वडा नं १, वडा नं ४ र वडा नं ५ मात्र कांग्रेसले जितेको छ । जसपाले वडा नं २ र वडा नं ६ मा जित हात पारेको छ । वडा नं ३ मा माओवादीले जितेको छ । कपिलवस्तु नगरपालिकाका ५ वडामध्ये वडा नं ७ र वडा नं ११ जसपाले जितेको छ ।

वडा नं ८ र वडा नं १० कांग्रेसले जित्दा वडा नं ९ एमालेले जितेको छ । जसपाले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छैन भने प्रदेश सभा ‘२’ का नेता सहसराम यादव कांग्रेसबाट चुनावमा उठेका छन् । प्रदेशसभा (१) मा कांग्रेसका डोलकराम घिमिरे र एमालेका विष्णु पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा ‘२’ मा कांग्रेस, नेकपा एस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धनबाट कांग्रेसका सहसराम यादवलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले फैजल खानलाई मैदानमा उतारेको छ । एमालेले मधु सुदनशरण चौधरीलाई उम्मेदवार बनाएको छ । यादव जसपाबाट २०७४ मा निर्वाचित पूर्व प्रदेशसभा सदस्य छन् । यादव मनोनयन दर्ताका दिन कांग्रेस प्रवेश गरी उम्मेदवारी दिएका थिए ।

सहसरामलाई कांग्रेसले उम्मेदवार बनाएपछि त्यसको विरुद्धमा कांग्रेस नेता मेवालाल यादवले जसपा प्रवेश गरी उम्मेदवार दिएका छन् । मेवालाल पनि चुनावी प्रचारमा छन् । विसं ०७४ मा तत्कालीन बाम गठबन्धनको एमालेबाट उम्मेदवार बनेका खान एमाले विभाजनपछि समाजवादीतिर लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?