चुनावको मौकामा चौका हान्दा फन्दामा परे काठ तस्कर

लोकपथ
574
Shares

कैलाली । देशभर चारैतिर निर्वाचनको माहोल छ । निर्वाचनमा कर्मचारीहरु खटिएका छन् । यहिबेला काठ तस्करहरुले भने तस्करीको योजना बुन्दै सक्रिय हुन थालेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकौवाबाट गएराति दुई जना काठ तस्कर पक्राउ परेका छन् ।

आमनिर्वाचनको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न बर्दगोरिया गाउँपालिका–५ विशालनगरका ४२ वर्षीय किसन विक. र ३३ वर्षीय विरेन्द्र विकलाई पक्राउ गरिएको सवडिभिजन वन कार्यालय पहलमानपुरका वन रक्षक समिर सिंहले जानकारी दिए ।

सामुदायिक वन हेरालुले दिएको विषेश सूचनाका आधारमा गएराति १२ बजे दानुफाँटा नमुना सामुदायिक वन क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको वन रक्षक सिंहले बताए । ४ वटा सालको ठूलो परिणामको गोलिया तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित उनीहरुलाई पक्राउ गरिएको सवडिभिजन कार्यालय पहलमानपुरले जनाएको छ ।

‘पक्राउ परेका व्यक्तिहरु र काठ सवडिभिजन वन कार्यालय रामपुर, बौनियामा राखिएको र उनीहरुमाथि आवश्यक छानबिन भइरहेको छ ।’ सवडिभिजन वन कार्यालय पहलमानपुरका वन रक्षक समिर सिंहले भने, ‘काठको विवरणसहित मुचुल्का तयार गर्दैछौँ ।’ सवडिभिजन वन कार्यालय रामपुर, बौनियाका प्रमुख गौचरण चौधरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित वन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए ।

तर, यसक्षेत्रमा पर्ने सामुदायिक वन क्षेत्रबाट काठ तस्करीका घटना रोकिएका छैनन् । एकपछि अर्काे गरी तस्करी मौलाउँदै जानुले सरोकार राख्ने निकायको मौनता र निगरानी कति फितलो छ भन्नेमा प्रश्न उठ्ने गरेको छ । यहाँका स्थानीयले वन कर्मचारीको मिलेमतोमा नै कतिपय तस्करी घटनाहरु सामान्य देखाउँदै तस्करीमा संलग्नमाथि आवश्यक कारबाही गरिनुपर्नेमा सामान्य बनाइ छोड्ने गरेको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?