निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन अन्तरक्रिया

लोकपथ
78
Shares

वीरगञ्ज । निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया वीरगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेश प्रदशको आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मी गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले पत्रकारले निर्वाचनमा पत्रकार आचार संहितासँगै निर्वाचन आचार संहिता पालना गरेर अरुलाई पनि निर्वाचन आचारसंहिता पालना गर्नका लागि दबाव दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति महासचिव श्याम बञ्जाराले पत्रकारले चाहेको उम्मेदवारलाई समाचारमै जिताउनु गलत भएको बताए ।

विचार शून्य कोहि नहुने बताउँदै उनले कलम चलाउँदा निष्पक्ष हुनुपर्नेमा जोड दिए । सामुदायिक रेडियो प्रशारक संघ अकोराबका पूर्व महासचिव एवं नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारले समाचार लेख्दा जिम्मेवार हुनुपर्ने बताए ।

राज्यले नियुक्त गरेका कर्मचारीले नै निर्वाचन गराउने हुँदा उनीहरुबाट निर्वाचन विरोधी गतिविधि हुन नदिन सञ्चारकर्मी चनाखो हुनुपर्ने उनको धारणा छ । पत्रकारले पत्रकारिता बाहेक अन्य पेशालाई प्रधान ठानेर काम गर्न नहुने उनको भनाई छ । आचारसंहिताको अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै उनले सञ्चारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इन्सेकका पर्सा प्रतिनीधि निर्वाचन जनताले सार्वभौम अधिकार प्रयोग गरेर जनप्रतिनीधि चुन्ने माध्यम भएकोले निष्पक्ष र भय रहित वातावरणमा हुनुपर्नेमा जोड दिए । इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले निर्वाचनमा देखिएको कमीकमजोरी लेखेर सहयोग गरिदिन आग्रह गरे । इन्सेकले देशभरमा ७ सय २२ जना निर्वाचन पर्यवेक्षक खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?