ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छ : ओनसरी घर्ती

लोकपथ
26
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छिन् ।

नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुईदुई पटक संसद विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् । उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउने र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पुर्‍याउनको लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्नसमेत गरिन ।

पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताइन् । उनले अध्यक्ष ओलीले राष्ट्रियताका एजेण्डा कुनैपनि नबोकेको दाबी गरिन । उनले ओली प्रधानमन्त्रीहुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाएकी छिन् ।

सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरेकी हुन् ।

प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्शा छाप्न नदिएको आरोपसमेत लगाएकी छिन् । उनले देशको पक्षमा र राष्ट्रको हीत विपरित काम गर्ने ओली कसरी देशभक्त ? भन्दै प्रश्नसमेत गरिन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुको कारण नरहेको जिकिरसमेत गरिन ।

नेतृ घर्तीले राज्यको समृद्धिको लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?