पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

लोकपथ
52
Shares

बेदकोट । प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् ।

‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भनिन्, ‘अघिल्ला चुनावमा गरेका बाचाहरुलाई पनि यस पटक पनि दोहो¥याइरहेका छन् ।’ तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापना, लालपुर्जा वितरण, नदी कटान तथा डुबानको समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य सेवा विस्तारलगायत मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ ।

तर अहिलेसम्म उक्त समस्या हल नहुँदा मतदातामा निराशा छ । चुनावको बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्ने आश्वासन दिन्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्’, कृष्णपुर नगरपालिका–१ का हरिभान भट्टले भने, ‘नेताहरूले हामीलाई भोट बैंकका रुपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन ।’

वाम–लोकतान्त्रिक कांग्रेसका उम्मेदवार एनपी साउँद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताए । विसं २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा धामीसँग पराजित भएका साउँद अहिले बदला लिने दाउमा छन् । एमालेका धामी २०७४ को जितको विरासत जोगाउने रणनीतिका साथ चुनावी मैदानमा छन् ।

कञ्चनपुर क्षेत्र नं २ मा मुक्तकमैया, मुक्त हलिया र आरक्ष विस्थापितसँगै भूमिहिन र सुकुम्बासी बढी भएको क्षेत्रका रुपमा छ । यही कारण उम्मेदवारहरूले चुनाव जित्नका लागि विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेका व्यवस्थापनको मुद्दा उठान गर्ने गरेको बेदकोटका स्थानीय टेक सार्की बताउँछन् ।

‘वर्षाैंदेखि लालपुर्जा दिन्छौँ भनेका छन्, तर हामीले लालपुर्जा कहिले पाउने ? हरेक चुनावमा लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएर नेताहरूले चुनाव जित्छन्’, उनले भने, ‘नदीको कटान र बाढीको समस्या पनि उस्तै छ ।’ उम्मेदवारहरू महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णता दिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा सडक निर्माण गर्ने, दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलगायत मुद्दाहरू अघि सारेर मतदाता रिझाउनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?