मतदाता शिक्षा कार्यक्रममा कठिनाई भएको गुनासो

लोकपथ
14
Shares

काठमाडौं । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौंमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरुलाई काम गर्न कठिन भईरहेको बताएका छन । आईतवार बिहान काठमाडौंको नक्सालमा घरदैलो गरिरहेका उनीहरुले परिचय पत्र नभएको कारण आफूहरुलाई मतदाता शिक्षा दिने काममा कठिनाई भईरहेको प्रतिक्रिया दिएका हुन् ।

उिनहरूले तत्काल सो परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न निर्वाचन आयोगसँग मागसमेत गरेका छन् । परिचय पत्र नभएकाले आफूहरुलाई मतदाताहरुले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयमसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिइन् । उनले परिचय पत्रको अभावमा काम गर्न कठिनाई भएको उल्लेख गर्दै तत्काल परिचय पत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गरेकी छिन् ।

मतदाताहरुमा भोट हाल्न जाने कुरामा उदासिनता पाइएको पनि महिला स्वास्थ्य स्वयमसेविकाहरुको बुझाइ छ । भोट होलेर के हुन्छ ? भनेर मतदाताहरु मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयमसेविका मानन्धरले बताइन् । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरुमा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । जसअनुसार वडा सचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगिरहेको काठमाडौं महानगरपालिका वडा नम्बर १ का सहायक वडा सचिव सर्वज्ञराज पौडेलले जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ । यो कार्य मंसीर १ गतेसम्म चल्ने पनि सहायक वडा सचिव पौडेलले बताए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?