बाग्मती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउन १० दिने अल्टिमेटम, सुकुम्बासीहरुमा त्रास

लोकपथ
39
Shares

काठमाडौं । सरकारले बाग्मती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै त्यस क्षेत्रका सुकुम्बासीहरुले असन्तुष्टी जनाएका छन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बाग्मती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् ।

सुकुम्बासीहरुको समस्या समाधान नगरी घरटहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्बासीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । आईतवार बाग्मती नदी किनाराको थापथलीस्थित सुकुम्बासी बस्तीमा पुग्दा उनीहरुले सरकारले आफूहरुमाथि अन्याय गर्ने गरेको बताए । सरकारले सुकुम्बासी बस्तीमा रहेका वास्तविक सुकुम्बासीहरुको पहिचान गर्नुपर्ने र भूमिहीनहरुलाई बासस्थानको ग्यारेन्टी गर्नुपर्ने आफूहरुको माग रहेको सुनाए । थापाथली सुकुम्बासीमा बसोवास गरिरहेका भीमबहादुर चेपाङले सरकारले वास्तविक र नक्कली सुकुम्बासी पत्ता लगाउन छानबिन गर्नुपर्ने बताए । सरकारले छानबिन प्रारम्भ गरे नक्कली सुकुम्बासीहरु आफैँ उठेर हिँड्ने उनको भनाइ छ । उनले वास्तविक सुकुम्बासीलाई सरकारले जग्गा दिनुपर्ने माग गरे ।

सुकुम्बासी बस्तीमा बसोवास गर्दै आएका गोपाल रनपहेँलीले निर्वाचनको समयमा दश दिने अल्टिमेटम दिइनु उचित नभएको बताए । उनले सरकारले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने र आफ्ना कुराहरु सुन्नुपर्ने बताए ।

मनहरा सुकुम्बासीबस्तीमा बसोबास गर्दै आएका नेपाल बसोवास बस्ती संरक्षण भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका पदमबहादुर सिंजापतीले सरकारले आफूहरुको बसोवासको ग्यारेन्टी गर्नुपर्ने बताए । उनले आफूहरुलाई आजीवन सुकुम्बासी बन्न मन नभएको भन्दै सुकुम्बासीको बिल्ला हटाइदिन सरकारसँग माग गरे ।

विगत १७ वर्षदेखि थापाथलीसुकुम्बासी बस्तीमा बसोवास गर्दै आएका पदम लामाले घरटहरा भत्काएपछि छानबिन हुन नसक्ने भन्दै पहिले सुकुम्बासीहरु हुन्, होइनन् भन्ने छानबिन गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुलाई त्यहाँबाट हटाएमा आफूहरुको जाने ठाउँ नभएको बताए । उनले काठमाडौंभरका सुकुम्बासीहरु आन्दोलित हुने चेतावनीसमेत दिए ।

त्यसो त बाग्मती नदी आगटेर बसेका सुकुम्बासीहरुलाई हटाउन पटक–पटक प्रयास हुँदै आइरहेको छ । तर, हालसम्म हटाउन सकेको अवस्था छैन । यसपटक भने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले १० दिने अल्टिमेटम नै दिएपछि सुकुम्बासी बस्तीमा त्रास फैलिएको छ । यता, मंसिर ४ गतेको चुनावका लागि मत माग्न नेताहरु सुकुम्बासी बस्तीमा पनि पुगिरहेका छन् । उनीहरुले सुकुम्बासीहरुको व्यवस्थापन गर्ने ठोस नीति सरकारसँग नभइ बस्ती भत्काउनु नहुने भनि मतदातासँग भोट मागिपनि रहेका छन् । सुकुम्बासीबस्तीमा भूमिहीनहरुलाई भूमि दिलाउनका लागि आफ्नो र आफ्नो पार्टीको उम्मेदवारी रहेको भनि उम्मेदवार र दलहरुको पर्चा, पम्लेटहरु टाँसिएका छन् । पार्टीका झण्डाहरु टाँसिएका छन् । उम्मेदवारहरु पालो–पालो भोट माग्न पनि गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?