मधेश प्रदेशमा बढ्दै असुरक्षित गर्भपतन

लोकपथ
63
Shares

जनकपुर । मधेश प्रदेशमा असुरक्षित गर्भपतन गर्नेको संख्या बढेको छ । दक्ष जनशक्ति अभावका कारण प्रदेशमा असुरक्षित गर्भपतन बढेको हो ।

जसकारण भारतबाट नेपालमा दर्ता नभएका औषधिहरुको समेत प्रयोग बढ्दो छ । अधिकारीहरुका अनुसार मधेश प्रदेशमा १२ हप्ता माथिको गर्भपतन गराउने दक्ष जनशक्ति २ जना मात्रै छन् ।

त्यसैले नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षितरुपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

मधेश प्रदेशको जनकपुरमा ‘गर्भपतनको स्वास्थ्य मापदण्ड र यसको गलत प्रयोग’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले असुरक्षित गर्भपतन गराउनेहरु बढ्दो क्रममा रहेको भन्दै त्यसलाई निरुत्साहित बनाउन सबै लाग्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गर्भपतन गराउनेहरु मध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गर्भपतन गराएको देखिएको छ । मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय यादवले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न एक्लै सम्भावना नरहेको बताए ।

उनले सबै निकायले यसमा साथ दिन आग्रह समेत गरे । यसका लागि प्रदेशले छुट्टै निर्देशिका बनाउन थालेको यादवले पारे । प्रदेशमा दक्ष जनशक्तिको अभावले पनि सुरक्षित गर्भपतन हुन नसकेको उनको तर्क छ । अनुगमनको पाटो तिव्र बनाउनु पर्ने देखिएको उनले बताए ।

मधेश प्रदेशमा ७ हजार ५ सय १३ जनाले यस वर्ष सुरक्षित गर्भपतन गराएका छन् । तर, यो संख्या अत्यन्तै न्युन भएको अधिकारीहरुले बताएका छन् । सहभागीहरुले भनेका छन्, मधेश प्रदेशमा सुचिकरण नभएका स्वास्थ्य सस्थाबाट सेवा र नेपालमा दर्ता नभएका औषधि व्यापक प्रयोग भइरहेको छ ।

वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले प्रसुती गराउने दक्ष जनशक्तिको अभावले गर्दा पनि असुरक्षित गर्भपतन बढेको बताउँछन् । ‘प्रदेशमा दर्ता बिनाका स्वास्थ्य संस्थाको कारबाही सुरु गर्दा सेवा नै ठप्प हुने अवस्था आउँन सक्छन्,’ डा. पण्डितले भने, ‘यसलाई कडाइका साथ कानुनी दायरामा ल्याउँदै जानुपर्छ ।’

डा. पण्डितले असुरक्षित रुपमा हुने गर्भपतनलाई रोक्न निरन्तर मिडियाको खबरदारी आवश्यकता रहेको बताए । त्यस्तै नेपालमा दर्ता नभएका औषधिहरुको पनि गर्भपतनमा व्यापक प्रयोग हुने गरेको उनको बुझाइ छ । ‘विभिन्न कारणले गर्दा चाहना विपरित गर्भ बसेको हुन्छ,’ डा. पण्डित भन्छन्, ‘यसलाई गर्भपतन गराउँन महिलाहरु समाजको डरले लुकेर दर्ता नै नभएको स्वास्थ्य संस्थामा पुग्छन् । त्यसरी लिएको सेवा पूर्ण हुँदैन । कुनै पनि बेला स्वास्थ्यमा समस्या आउँन सक्छ ।’

डा. पण्डित देशमा गर्भपतनको तथ्यांक निकै भयावह भएको सुनाउँछन् । हरेक वर्ष कम्तिमा १२ लाख महिला गर्भवती हुन्छन् तर, ६ देखि ७ लाखको बिचमा मात्रै महिला सुत्केरी हुन्छन् । यो बिचको लाखौँ गर्भवती महिलाले कुनै न कुनै रुपमा गर्भ फाल्ने गरेको उनको भनाई छ ।

प्रसुती तथा स्त्री रोग र एमडिजिपी चिकित्सकले मात्रै गर्भपतन गराउने व्यवस्था छ । जिल्लाहरुमा यो दुवै जनशक्ति छैन । जिल्ला अस्पताल सबै सुचिकृत गरेको बताए पनि व्यवहारमा त्यस्तो छैन । १२ हप्ता सम्मको गर्भपतन गराउँन जिल्ला अस्पताल सुचिकृत रहेका छन् ।

यद्यपि, १२ हप्ता भन्दा बढीको गर्भपतन गराउन प्रसुति तथा स्त्री रोग चिकित्सक हुनुपर्छ । वा तालिम लिएको एमडिजिपी चिकित्सक आवश्यक पर्ने डा. पण्डित बताउँछन् । डा. पण्डितले भने ‘मधेश प्रदेश भर २८ हप्ता सम्मको तालिम लिएका २ जना मात्रै स्वास्थ्यकर्मी छन् । त्यसैले असुरक्षित गर्भपतन भइरहेको छ । गर्भपतन धेरै गराएर जनतालाई फाइदा पुग्ने हैन ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका पुर्व सदस्य प्रा.डा. अंकुर साहले लिंग पहिचान गरेर गर्भपतन गराउने परिपाटी पनि विकास भएको बताए । ‘समाजमा महिला र पुरुष पेटमा हुँदै हेरेर आफुले नचाहेको अवस्थामा गर्भपतन गराउने परिपाटीको विकास पनि हुदै आएको छ,’ डा. साहले भने, ‘यो सम्बन्धित सेवा ग्राही र चिकित्सकको बिचमा मात्रै जानकारी हुने भएकाले पुष्टि गर्न सहज छैन ।’

नयम अनुसार लिंग पहिचान गर्न पाइँदैन, त्यसैले हामीले यसलाई कम गराउने भनेको सञ्चार जगतबाट सचेतना मात्रै हो ।

तथ्यांकअनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार देशमा १५ सय स्वास्थ्य संस्था गर्भपतनको सेवा दिन सूचीकृत छन् । ‘सूचीकृत स्वास्थ्य संस्थाबाट बि.स २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । गर्भपतनको सेवा लिनेहरु अधिकांश २० वर्षभन्दा मुनिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?