गठबन्धनले जनताको जीवनमा परिवर्तन ल्याउँछ : जगन्नाथ खतिवडा

लोकपथ
416
Shares

उदयपुर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रचारप्रसार विभाग प्रमुख तथा उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताएका छन् ।

आज उदयपुरको कटारीमा वाम–गठबन्धनको चुनावी ¥याली पश्चात्को कोणसभालाई सम्बोधन गर्दै खतिवडाले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको हुने र जनताको जीवनमा परिवर्तन ल्याउने बताएका हुन् । गठबन्धनले यस क्षेत्रमा जिते सडक, जग्गाबिहीनलाई लालपुर्जा दिने, तटबाँध निर्माण गर्ने, पुल निर्माणलगायत भौतिक विकास गर्ने बताए । ‘ककरु, तवा, वैद्यनाथ, सुनकोसी नदीले क्षति पु¥याएको छ’, खतिवडाले भने, ‘यस क्षेत्रको अनेकौँ पुल हाम्रो प्राथमिकतामा परेको छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले राज्य जोगाउन गठबन्धनको आवश्यकता परेकाले गठबन्धनलाई मत दिनुपर्ने बताए । ‘पुराना कुरा थाती राखौँ अहिलेको राष्ट्रिय मुद्दा भनेको राष्ट्रलाई जोगाउनु हो, त्यसैले गठबन्धन भएको हो’, कार्कीले भने, ‘दलीय व्यवस्थामा दलको आवश्यकता पर्छ त्यसैले पहिलो प्राथमिकतामा दललाई राखेर मत दिऔँ ।’

एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश एकका अध्यक्ष बलदेव चौधरीले संविधानको रक्षाका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताए । ‘हामीले संविधान बनायौँ, सार्वभौमसत्ता नेपाली जनता भनिएको छ र देशको मालिक नेपाली जनता बनायौँ’, चौधरीले थपे, ‘त्यही संविधानमाथि एमालेले प्रहार गरेको छ र राजा ल्याउने अभियानमा जुटेको छ, त्यही भएर गठबन्धनलाई जिताउनुपर्छ ।’

वाम–गठबन्धनका प्रचारप्रसार मूल समितिका संयोजक मोहन खत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गठबन्धनले यस क्षेत्रको ग्रामीण भेगमा घरदैलो सकेर कटारी बजार केन्द्रित प्रचारलाई जारी राखेको छ । यस क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिकासहित पाँच स्थानीय तह रहेको छ । यहाँ ४८ हजार सात सय ४७ पुरुष र ४४ हजार छ सय ७४ महिला गरी जम्मा ९३ हजार चार सय २१ मतदाता रहेका छन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार रहेका छन् । दश राजनीतिक दलको प्रतिस्पर्धा रहेको यस क्षेत्रमा गठबन्धनले मुख्य प्रतिस्पर्धीमा एमालेलाई लिएको छ । यहाँ एमालेबाट प्रतिनिधिसभा अम्बरबहादुर रायमाझी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?