कुमरीमा गठबन्धको भब्य चुनावी सभा, जित सुनिश्चित भईसकेको नेताहरुको दाबी

लोकपथ
1.7k
Shares

बिदुर । नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने कुमरीको झ्याङ्ली पोखरीमा शनिवार कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको भब्य चुनावी सभा सम्पन्न भएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नम्वर १, २ र ३ लाई केन्द्रीत गरेर आयोजित आमसभामा देखिएको नागरिक उपस्थितीबाट अव नुवाकोटमा गठबन्धनको जित सुनिश्चित भईसकेको दाबी गरेका छन् ।

सभामा नेपाली कांग्रेसका नेता एवंम् नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुननरसिंह केसीले देशब्यापीरुपमा देखिएको गठबन्धनको पक्षमा लहर पछिल्लो समय झनै ब्यापक बन्दै गएको र कुमरीमा देखिएको जनसहभागिताले निर्वाचन प्राबिधिक बन्दै गएको बताए ।

आफू निरन्तर नागरिकको पक्षमा क्रियाशिल रहेकाले यहाँका नागरिकको सदैब स्नेह प्राप्त गर्देै आएको र जीवनका हरेक कालखण्डमा नागरिकको सेवाबाट बिचलित नहुनेसमेत नेता केसीको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य एवम् माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार बिमला सुबेदी नेपालको लोकतान्त्रिक आन्दोलनको ईतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कुमरी क्षेत्रका जनताले प्रतिगमनलाई परास्त गर्ने यो महाअभियानमा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’का उम्मेदवार बहादुरसिंह लामाले नुवाकोट २ का प्रतिनिधिसभा उम्मेदवार केसीको बिजयलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै यस क्षेत्रका दुबै प्रदेशमा गठबन्धनका उम्मेदवार भारी मतले बिजय हुने दाबीसमेत गरे ।

यसैगरी कार्यक्रममा संबिधानसभा सदस्य एवम् कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, माओवादी नेता हिरानाथ खतिवडा, नुवाकोट कांग्रेसका उपसभापति राजु थापा, कांग्रेसकी समानुपातिक उम्मेदवार सीता मिजार, कांग्रेस नेतृ गीता अमात्य, माओवादी नेता राजकुमार रेग्मी, कांग्रेस बेलकोटगढीका अध्यक्ष लेखनाथ मुडवरी, माओवादी बेलकोटगढीका अध्यक्ष शिव पौडेल, स्थानीय कांग्रेस नेता नवराज ढुँगानालगायतले लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएको लहर र निर्वाचनका लागि अपनाउनुपर्ने रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?