महोत्तरी ४ : दोस्रो प्रतिस्पर्धामा महेन्द्र र सुरेन्द्र, यस्तो छ अंकगणीत

लोकपथ
52
Shares

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट डाक्टर सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्ध उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।

प्रदेशसभामा भने गठबन्धन गरेका दुवै पक्षले फरक–फरक पार्टीबाट उम्मेदवार उठाएका छन् । प्रदेशसभा क्षेत्र (क) मा एमालेबाट सरोजकुमार यादव र सत्ता गठबन्धनबाट लोसपाका कौशलकुमार यादव उम्मेदवार छन् ।

यस्तै, महोत्तरी ४ को प्रदेश सभा क्षेत्र (ख) मा एमाले–जसपा गठबन्धनबाट जसपाका सरोजकुमार सिंह र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ललेन्द्रकुमार मण्डल उम्मेदवार छन् । बैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा यहाँ सत्ता गठबन्धन अगाडि छ । गठबन्धनका पक्षमा ३७ हजार ८ सय ६२ मत आएको थियो । एमाले–जसपाको मत भने २० हजार १ सय ४० छ ।

स्थानीय चुनावका बेला जसपा सत्ता गठबन्धनमा थियो । तर अहिले एमालेसँग छ । त्यसबेला एमालेसँग भएको लोसपा सत्ता गठबन्धनसँग मिलेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार महेन्द्रकुमार राय संविधान रक्षा गर्ने र संविधानका व्यवस्था उल्लंघन गर्ने पक्षधरबीच चुनावमा प्रतिस्पर्धा हुन लागेको उल्लेख गर्छन् । ‘यसपाली संविधान रक्षा गर्ने र संविधान नमान्ने प्रतिगमनकारी दुई ध्रुवबीच चुनावी प्रतिस्पर्धा हुँदैछ,’ उनी भन्छन्, ‘सत्ता गठबन्धन संविधानको रक्षा गर्न बनेको हो । हामी संविधान रक्षा नागरिकता समस्या पनि चाँडै नै समाधान गर्छौं ।’

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादवले जितेका थिए । उनले १८ हजार ३ सय ५३ मत ल्याएर जित्दा कांग्रेसका महेन्द्रले १३ हजार २५ मात्रै पाएका थिए ।

स्थानीय चुनावको मत हेर्दा सुरेन्द्रले जित निकाल्न धेरै मेहनत गर्नुपर्ने छ । महेन्द्रलाई पनि गठबन्धनकै मत कायम राख्ने चुनौती छ । मैले नजिते पनि जनताको काम गर्दै आएको छु,’ महेन्द्रले भने, ‘जितेर ठाउँमा पुगेपछि झन सजिलो हुन्छ ।’ उनले आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा सिँचाइमा काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?