कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उहाँले  श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै  समाधान गरिने बताए । मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण तथा रोजगार वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण भएको बताउँदै मन्त्री विष्टले प्रादेशिक विशेषताअनुसार उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री हरिबोल गजुरेलले कृषकलाई समयमै बीउबिजन, उपकरणलगायत सामग्री उपलब्ध गराउन गर्नसकेमा उत्पादन वृद्धि गर्न सहज हुने हुँदा त्यसचर्फ सङ्घीय नीति सहयोगी हुनुपर्ने विचार व्यक्त गरे । राष्ट्रियसभाका सांसद् बलराम बाँस्कोटाले कृषि प्रणालीलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिए।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले राष्ट्रिय बजेटको करीब दुई प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन गरिएकाले कृषकलाई विभिन्न शीर्षकमा तालीम तथा अनुदान उपलब्ध गराउन नसकिएको बताए ।

नेपाल कृषि सहकारी महासङ्घका महाप्रबन्धक रुद्र भट्टराईले आफ्नो संस्थाअन्तर्गत विभिन्न ७१ जिल्लामा साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य संस्था गरी ९४२ सदस्य सङ्गठन विस्तार भइसकेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?