कलाकार चुनावी मैदानमा, कसको कोसँग पर्दैछ टक्कर ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा राजनीति दलका नेताहरू मात्र नभई विभिन्न क्षेत्रमा चर्चा कमाएका व्यक्तिहरु समेत चुनावी मैदानमा उत्रिएका छन् ।

विगतमा सम्पन्न भएका निर्वाचनहरुमा जस्तै यसपटकको चुनावी मैदानमा पनि कला क्षेत्र मार्फत् विभिन्न कलाकर्मीहरुले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा यसपटक भने कलाकारहरुको उत्साहजनक सहभागी रहेको छ । कलाकारहरुको उपस्थितीले उनिहरुको चुनाव क्षेत्रमा बेग्लै किसिमको रौनक थपिएको छ ।

विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा रहेका कतिपय सेलिब्रिटी उम्मेदवारहरुको ‘हेभी वेट’ नेतासँग प्रतिस्पर्धा हुँदैछ । त्यसैले यहाँ कला क्षेत्रबाट बिश्राम लिएर राजनीतिमा होमिएका र आसन्न निर्वाचनमा उम्मेदवार बनेका कलाकारहरुको चुनावलाई नियाल्ने प्रयत्न गरिएको छ ।

कोमल वली (गायिका)

कला क्षेत्र हुँदै राजनीतिमा होमिने गायिका मध्येकी एक हुन्– कोमल वली । उनले ०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरु गरेकी वली हाल नेकपा (एमाले)को केन्द्रीय सदस्यसमेत छिन् । एमाले प्रवेश गरेपछि राष्ट्रिय सभाकी सदस्य बनेकी उनी अहिले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छिन् । गायिका वलीको चुनौतिका रुपमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ओजबहादुर खड्का रहेका छन् ।
वलीलाई कांग्रेसका गिरी नै प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् । गिरीलाई गठबन्धनको साथ रहेको छ भने उनी सोही क्षेत्रबाट ०७० को दोस्रो संविधान सभा निर्वाचनमा विजयी हुँदै सिँचाइमन्त्रीसमेत बनेका थिए । ०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार हीराचन्द्र केसीसँग पराजित भएका थिए ।

गत वैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा दाङ ३ मा गठबन्धन बलियो देखिन्छ । एमाले ३८ हजार ६ सय ५८ मत ल्याएर पहिलो भएपनि गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले ३० हजार ९ सय ८९, माओवादी केन्द्रले १२ हजार ८ सय ८० र एकीकृत समाजवादीले १ हजार ९ सय ३८ मतलाई एकीकृत गर्दा कुल ४५ हजार ८ सय ७ मत हुन आउँछ । त्यसैले गायिका वलीले चुनावमा जित निकाल्न भने धेरै मेहेनत गर्नुपर्ने देखिन्छ ।

रेखा थापा (अभिनेत्री)

कला क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने अर्की कलाकार हुन्, अभिनेत्री रेखा थापा । तत्कालीन एकीकृत नेकपा माओवादी हुँदै राजनीतिक यात्रा सुरु गरेकी थापा अहिले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छिन् । गत मंसिर ४ गते भएको राप्रपाको एकता महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थापा अहिले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छिन् ।
मोरङ–३ मा महिला उम्मेदवार बनेर पुगेकी उनलाई स्थानीय महिलाले भब्य स्वागत गरेका छन् । तर, थापाको प्रतिद्वन्द्वीमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मा र नेकपा एमालेका भानुभक्त ढकाल छन् ।

अघिल्लो आम निर्वाचनमा कांग्रेसका शर्मालाई एमालेका उम्मेदवार ढकालले माओवादी केन्द्रसँग मिलेर १९ सय मतान्तरले हराएका थिए । यद्यपि, यो निर्वाचनमा भने गठबन्धनको समेत साथ रहेकाले शर्मालाई सहज रहेको आँकलन गरिन्छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन नतिजालाई हेर्ने हो भने पनि सो क्षेत्रमा गठबन्धन नै बलियो देखिन्छ । तर, स्थानीय तह निर्वाचनमा पहिलो भने नेकपा एमाले भएको थियो । एमालेले ३७ हजार ४ सय १० मत ल्याउँदा गठबन्धनमा आबद्ध कांग्रेसले ३६ हजार ९ सय १६, माओवादी केन्द्रले ७ हजार ३ सय ७३ र एकीकृत समाजवादी पार्टीले १ हजार ८ सय ५५ मत ल्याएका थिए । त्यस्तै, राप्रपाले २ हजार १ सय २१ मत पाएको थियो भने जनता समाजवादी पार्टी (जसपा) ४ सय ६३ मत पाएको थियो ।

मनोज पण्डित (निर्देशक)

यसपटकको आम निर्वाचनबाट सांसद बन्ने दौडमा चलचित्र निर्देशक मनोज पण्डित पनि रहेका छन् । चलचित्र निर्देशन हुँदै राजनीतिक यात्रा थालेका पण्डित स्वतन्त्र उम्मेदवारकारुपमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।

निर्वाचन आयोगले प्रदान गरेको डोजर चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका पण्डितको प्रतिस्पर्धा नेकपा एमालेका गोकुल बाँस्कोटा र गठबन्धनका उम्मेदवार शिव हुमागाईंसँग रहेको छ । त्यसैले पण्डितलाई जित निकाल्न सजिलो छैन । उसो त यो क्षेत्रमा बाँस्कोटा र हुमागाईंको नै घम्साघम्सी पर्ने देखिन्छ ।

सञ्जय श्रेष्ठ (गायक)

आगामी निर्वाचनमा गायक सञ्जय श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध गायक श्रेष्ठ पछिल्लो समय भने स्वतन्त्र उम्मेदवारको रुपमा चुुनावी मैदानमा देखिएका हुन् । पार्टीले अन्तिम समयमा आएर आफूूलाई धोका दिएको भन्दै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अहिले श्रेष्ठको मुुख्य चुुनौतिकारुपमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमसेनदास प्रधान, नेकपा एमालेका सर्वेन्द्र खनाल र राप्रपाका विष्णुप्रसाद आचार्य रहेका छन् । विगतको आम निर्वाचनलाई हेर्दा क्षेत्र नम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान बलिया उम्मेदवार देखिन्छन् । यही क्षेत्रमा प्रधानसँग एमालेका युवा नेता योगेश भट्टराई दुईपटक पराजित भइसकेका छन् भने २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार भएका झक्कु सुवेदीसमेत पराजित भएका थिए । त्यसैले हेभी वेट नेताका अघि श्रेष्ठ ओझेलमा पर्ने देखिन्छ ।

बसन्त पोख्रेल (निर्देशक)

चलचित्र तथा टेलीश्रृंखला निर्देशक बसन्त पोख्रेलले पनि संघिय सांसद बन्न कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । एकीकृत शक्ती नेपाल पार्टीबाट उम्मेदवार बनेका पोख्रेल चलचित्र पत्रकार पनि हुन् । त्रिशुल चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका पोख्रेलको संसदीय यात्रा पनि अन्य कलाकर्मीहरुको जस्तै कठिन देखिन्छ । उनले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल र एमालेका बलराम अधिकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यो क्षेत्रमा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामका आधारमा नेपाली कांग्रेस अघि छ । त्यतिबेला कांग्रेसका वडाध्यक्षले २८ हजार २ सय ७१ मत ल्याउँदा एमालेका वडाध्यक्षहरुले २६ हजार ८ सय २३ मत पाएका थिए । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्षहरुले १३ हजार ५ सय १०, माओवादी केन्द्रका वडाध्यक्षहरुले ९ हजार ३ सय ३८, एकीकृत समाजवादी पार्टीका वडाध्यक्षहरुले ३ हजार ७ सय २२, लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्षले ३ हजार ४ सय २४ र राप्रपाका वडाध्यक्षहरुले २ हजार ४ सय ८० मत ल्याएका थिए ।

हिमेश पन्त (कलाकार)

स्ट्यान्डअप कमेडियन हिमेश पन्त रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य बन्ने दौडमा जुटेका छन् । धादिङ क्षेत्र नम्बर १ बाट चुनाबी मैदानमा उत्रिएका पन्तको पनि संसदिय यात्रा कठिन देखिन्छ ।

एकातर्फ सत्ता गठबन्धन, अर्कोतर्फ नेकपा एमाले सहितको गठबन्धन र अन्य साना दल तथा केही स्वतन्त्र उम्मेदवारहरुसँग पन्तको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । धादिङ १ को स्थानीय तहलाई हेर्दा वडाध्यक्षहरुको मतले एमाले पहिलो भएपनि गठबन्धनमा आबद्ध दलहरुका वडाध्यक्षले ल्याएको मत धेरै छ । अहिले पन्तको मुख्य चुुनौतीका रुपमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठी नै देखिन्छन् ।

मिलन लामा (गायक)

लोकदोहोरी गायक मिलन लामा (विष्णुु) पनि सांसद बन्ने दौडमा चुनावी मैदानमा उत्रिएका छन् । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यतर्फ उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उक्त क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धीमा गठबन्धनका उम्मेदवार कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डे रहेका छन् ।

०५४ देखि नै एमालेको गढ मानिने उक्त क्षेत्रमा गायक लामालाई जित हात पार्न सहज नहुने आँकलन गर्दै आएको छ । गत वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनले एमालेको लामो समयदेखि रहेको वर्चश्व भङ्ग गरेको थियो । क्षेत्र नम्बर १ बाट तेस्रो पटक संसदको यात्रा गर्ने लक्ष्य बोकेका पाण्डेलाई भने गठबन्धन चुनौतीपूर्ण देखिन्छ ।

जनता राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसँग रुष्ट बन्दै गर्दा गायक लामाले ‘शासन होइन् सोचका लागि’ भन्ने नाराका साथ आफ्नो प्रचार प्रसार तिव्र पारेका छन् ।

मधुसुदन पाठक ‘सिते बा’ (कलाकार)

हाँस्य टेलीश्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ को भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

राजनीति फोहोरी भएको भन्दै त्यसको सफाइका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी छ । उनको मुख्य चुनौतीकारुपमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल र नेकपा एमालेका ईश्वर पोखरेल छन् । त्यस्तै, अन्य साना राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि उनको संसदीय यात्रामा चुनौतिपूूर्ण सावित हुनसक्ने अनुमान गरिएको छ ।

यसअघिको आम निर्वाचनलाई हेर्ने हो भने यस क्षेत्रबाट एमालेका ईश्वर पोख्रेलले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई २३ हजार २९ मतसहित हराएका थिए ।

त्यतिबेला पोख्रेललाई माओवादी केन्द्रको समर्थन रहेको थियो । स्थानीय तहको मतपरिणामलाई नियाल्ने हो भने वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा एमाले पहिलो भए पनि गठबन्धन बलियो देखिन्छ ।

प्रदेश सभा सदस्यतर्फ पनि कलाकारहरुको उम्मेदवारी

आगामी निर्वाचनमा कलाकर्मीहरुले प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवारी दर्ता गराएका छन् । जसमध्येका एक हुन् अभिनेता एवं निर्देशक, रोज राणा । कलाकारितासँगै राजनीतिमा लागेका उनी आगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्युठान १ (ख) मा उम्मेदवार भएका छन् । प्रदेशसभा सदस्य उम्मेदवार बनेका उनलाई गठबन्धनको समर्थन छ । उनको प्रतिद्वन्दीकारुपमा एमालेका हरी रिजाल रहेका छन् ।

त्यस्तै, अभिनेता एवं फिल्म वितरक करण श्रेष्ठ ‘क्रेजी’ प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ को प्रदेश ‘ख’ तर्फ उम्मेदवार बनेका छन् । श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेका हुन् । उनको प्रतिद्वन्दीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामप्रसाद अमागाई, नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठलगायतका रहेका छन् ।

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट धादिङ–१ को प्रदेश (क) बाट उम्मेदवारी दर्ता गरेका छन् । २०७४ को निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट चुनाव लडेर पराजित भएका थिए ।

उता, अभिनेता तथा निर्माता राज तिमिल्सेना पनि हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश (क) बाट उम्मेदवार बनेका छन् । गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२, प्रदेश (क) बाट प्रदेशसभामा उम्मेदवार भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका हुन् ।

यस्तै, अभिनेता सम्राट सापकोटा पनि काठमाडौं क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनी स्वतन्त्र राजनीतिक शक्ति पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?