कर्णाली र सुदूरपश्चिमबासीमा भूकम्पको त्रास

लोकपथ
143
Shares

कर्णाली । कर्णाली र सुदूरपश्चिम प्रदेशबासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । मङ्गलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकको सातो उडाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।

मङ्गलबार राति भूकम्पले घर हल्लिन थालेपछि यहाँका नागरिक घरबाट बाहिर खुलाचौर, सडक किनार र खेतमा जाग्राम बसेर रात बिताए । सर्लाही स्थायी घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका पूर्ण वर्देवाले फेरि भूकम्प आउने हो कि भन्ने त्रासले रातभर जाग्राम बसेको बताए ।

हुम्लाका दीपेन्द्र भण्डारीले अलि शक्तिशाली भूकम्प आउँदा कर्णालीका माथिल्लो बस्तीमा ठूलो क्षति हुने बताए । ‘घर पुराना छन्, भूकम्प प्रतिरोधी भवन कतै पनि छैनन्’ , भण्डारीले भने, ‘भूकम्पको ठूलो झट्का आउनेबित्तिकै गल्र्यामगुर्लुम ढल्ने अवस्था छ’, मङ्गलबारको भूकम्पले धेरैलाई भयभित बनाएको उनले जनाए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले कुनै पनि समयमा विनाशकारी भूकम्प जानसक्ने बताउँदै त्यसबाट बच्न नागरिकलाई सचेत भएर बस्न आग्रह गरिएको बताए । ‘भूकम्पले मान्छे मार्दैन बरु मान्छेले बनाएका संरचनाले ज्यान लिन्छ’, उनले भने, ‘त्यसैले बसेको संरचना कति बलियो छ भन्ने ध्यान राखेर पूर्वतयारी गर्न अनुरोध गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?