कैलाली–२ का मतदाता भन्छन् : ‘जसले नदीको तटबन्ध गर्छ उसैलाई भोट’

कैलाली । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कैलाली–२ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । त्यसो त उम्मेदवारहरू मत माग्न घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारले विभिन्न एजेन्डा सुनाएर मतदाता रिझाउन थालेका छन् ।

आफ्नै घरमा आएका उम्मेदवारलाई मतदाताले स्थानीय स्तरका समस्या खुलेरै सुनाउन थालेका छन् । वर्षायाममा डुबान र नदी कटानको समस्याले पिरोलिएका यहाँका स्थानीयबासीले डुबान र नदी तटबन्धको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

वर्षौँदेखि नदीले खेतीयोग्य जमीन कटानीको समस्या भोग्दै आएका कैलालीको बर्दगोरियाका गाउँपालिकाका स्थानीयले नदी तटबन्धको व्यवस्था गर्न माग राखेका छन् । पालिकाको वडा नं. १ का तुलाराम न्यौपानेले नेताहरुलाई धेरैपटक गुनासो पोख्दा पनि सुनुवाइ नभएको बताए ।

‘धेरै नेताहरुसँग नदी तटबन्धका लागि पटक–पटक हात जोडेर बिन्ती गर्दा पनि सुनुवाइ भएन,’ न्यौपानले भने, ‘अहिलेसम्मका निर्वाचित कसैले पनि पहल गर्नुभएन । जुन उम्मेदवारले नदी तटबन्धन गर्ने प्रतिबद्धतासहित विश्वस्त पार्छन् । उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको चाहना छ ।’

निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पर्ने बर्दगोरिया गाउँपालिका १, ३, ४ र ६ नम्बर वडाका बासिन्दाले वर्षेनी काँढा र कुहिरा नदी कटानको समस्या भोग्दै आएका छन् । वर्षेनी खेतीयोग्य जमीन नासिन थालेको भएपनि समस्या समाधानका लागि ठोस दीर्घकालीन योजना कसैले नल्याएको उनीहरुले दुखेसो पोख्दै आएका छन् । सडक, पुल र नदी तटबन्ध निर्माणका योजना ल्याउने आश्वासन नेताहरुले बाँड्दै आएको स्थानीय बताउँछन् ।

उनीहरुले भोट माग्न आउने नेतालाई जिताएर पठाएपनि समस्या ज्यूँका त्यूँ रहने गरेको गुनासो पोखे । सोही वडाका पदम महराले प्रश्न गरे ‘यदि मान्छे नै रहेन भने देश बचेर पनि के गर्ने ? पहिले मान्छे चाहियो, जनता चाहियो । यो ठाउँको जतिपनि विकासको लागि गर्ने हो भने नदी कटान भइरहेको छ । हाम्रो छाक, बास बचाइदिन पर्याे । यहाँको मुख्य समस्या नदी कटान हो ।’

स्थानीयले पुलपुलेसा र बाटोघाटोसँगै नदी तटबन्ध निर्माणको आवश्यकता रहेको बताएका छन् । निर्वाचनमा यसक्षेत्रमा बसोबास गर्ने भूमिहिन, दलित, बादी र थारुको मत निर्णायक हुने गरेको छ । सुकुम्बासी, मुक्तकमैया, तथा गरीब मजदुरको मत लिइसकेपछि चुनाव जितेपछि फर्केर पनि नआउने गरेको उनीहरुको गुनासो छ ।

‘जो मान्छेलाई जहाँ चोट लागेको हुन्छ, त्यो मान्छेलाई नै पीडा थाहा हुन्छ,’स्थानीय मनराज बमले भने, ‘हामीलाई चोट यो नदीले दिइरहेको छ । कतिपय मान्छेहरु यहाँबाट विस्थापित भएर गइसकेका छन् ।’ त्यसैले यसको समाधानका लागि पहल हुनुपर्याे ।

निर्वाचनका बेला यिनै समुदायको मत निर्णायक हुने भएपछि अनेकौं आश्वासन बाँड्न नेताहरु आउने गरेको र निर्वाचन जितेपछि उनीहरुको अवस्थाका बारेमा कसैले पनि बुझ्न नचाहेको उनको भनाई थियो । यसक्षेत्र प्रदेश सभाअन्तर्गत बर्दगोरिया गाउँपालिकाका ६ वटै वडा, मोहन्याल गाउपालिकाका १, २, ३, ४ र लम्कीचुहा नगरपालिकाका ६, ८, ९ र १० गरी १४ वडाहरु पर्दछन् ।

प्रदेशसभा २ (ख) मा २३ हजार ७४६ पुरुष, २४ हजार ८१७ महिला र अन्य १ गरी ४८ हजार ५६४ जना मतदाता छन् । यहाँ प्रदेश सभातर्फ दुई स्वतन्त्रसहित ९ जना उम्मेदवार छन् । प्रदेश सभामा नेकपा (एमाले) बाट डेजी पाण्डे, नेकपा (माओवादी केन्द्र) का नन्दबहादुर साउँद, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तेजप्रकाश बडायक, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जंगबहादुर देउवा चुनावी दौडमा छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, नेपाल मजदुर किसान पार्टीका दीपा विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका एकेन्द्रबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सन्तु डंगौरा थारु र भरतकुमार शाही चुनावी प्रतिस्पर्धामा छन् ।

गाउँ–गाउँमा पुगे उम्मेदवार

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता आकर्षित गर्न जुटेका छन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ ।

उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी चुनाव प्रचारप्रसार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले गत कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानी सभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन् ।

मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ । चुनावी अभियान तथा सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन् ।

मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन् ।

बागी उम्मेदवारकै डर

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको कैलाली २ (ख) मा कांग्रेसबाट विद्रोह गरेका भरतकुमार शाही चुनावी प्रतिस्पर्धामा छन् । उनी आफ्नो एजेन्डा बोकेर दिनहुँ मतदाता भेटघाटमा व्यस्त छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट विद्रोह गरेका सन्तु डंगौराथारुले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएका छन् ।

तर, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) र नेकपा एमालेका उम्मेदवार डेजी पाण्डेबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । गठबन्धनलाई विद्रोही गरेका बागी उम्मेदवारको डर छ । ०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नन्दबहादुर साउँद (राजेन्द्र) प्रदेशसभामा विजयी भएका थिए ।

त्यसबेला नेपाली कांग्रेसका अरुणकुमार चौधरी र नेकपा (माओवादी केन्द्र) नन्दबहादुर साउँद (राजेन्द्र) बीच प्रतिस्पर्धा भएको थियो । साउँदले १२ हजार ७७ मतसहित निर्वाचित हुँदा चौधरीले ११ हजार २३२ मत ल्याएर पराजित भएका थिए ।

यसपटक चौधरी कांग्रेस छाडेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उक्लिएका छन् भने, साउँद वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभामा दोहोरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?