चितवन २ मा गठबन्धनलाई विश्वास गर्न आग्रह

लोकपथ
13
Shares

काठमाडौं ।  चितवन क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्नका साझा उम्मेदवार तथा नेताहरुले गठबन्धनलाई विश्वास गर्न आग्रह गरेका छन । अब पनि जनता भ्रममा पर्न नहुने भन्दै उनीहरुले स्थायी सरकार र लोकतन्त्रको रक्षा गर्न गनबन्धनकै जित आवश्यक रहेको बताए । मंगलवार सांँझ भरतपुरमा आयोजित महिला अगुवा भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले अस्थिर स्वतन्त्र पार्टीहरुलाई जिताउनु नहुने तर्क गरे ।

कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले गठबन्धन देशको समृद्धिको लागि गरिएको भन्दै यहांँका मतदाताहरुले सोच र मानसिकतामा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

दुई तिहाईको सरकारको दम्भको कारण देश संकटमा परेको भन्दै उनले गठबन्धन जिताउन सबैको साथ आवश्यक रहेको बताए । गठबन्धनलाई जिताउन महिलाको नेतृत्व र ठूलो जिम्मेवारी रहेको उनको भनाइ थियो । ‘गठबन्धनलाई जिताउन महिलाको नेतृत्वदायी भूमिका र ठूलो जिम्मेवारी छ । महिला मतदाताको संख्या पनि धेरै छ । तपाई गठबन्धनको दुत बनिदिनुस । गठबन्धनलाई जिताउने र हराउने पनि तपाईहरुकै हातमा छ ।’ उनले भने ।

आफूले यो देशमा लिन नभएको भन्दै दिन मात्र आएको उनले बताए । ‘म कुनै पनि क्षेत्रमा असफल र नहारेको मान्छे , उनले भने, मैले स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस । अधुरा काम पनि गर्नदिनुस ।’

शिक्षा स्वास्थ्य , कृषि, पर्यटन हाईड्रो क्षेत्रमा आफूले फड्को मार्न सफल भएकोले उत्पादन र रोजगारी दिनपनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो । ‘मलाई अब एकपटक जिताईदिनुस । यो क्षेत्रमा ५ बर्षमा १० हजार जनाको रोजगारीको ग्यारेन्टी गर्नेछु ।’

कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम दाहालले स्वतन्त्र पार्टीका कुनै पनि स्पष्ट दृष्टिकोण र कार्यदिशा नभएको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।

रवि लामिछानेको उम्मेदवारीलाई लक्षित गर्दै उनले भने,‘ देशी विदेशी शक्तिको आडमा घण्टी आएको छ , उनले भने, घण्टीको यो देशमा काम छैन । यो मन्दिर र नदी किनारमा बजाउन मात्र काम लाग्छ । स्वतन्त्र पार्टीको कुनैपनि अस्तित्व नरहेको भन्दै उनले यस्ता पार्टीलाई मत दिएमा देश दुर्घटनामा जाने उनको भनाइ थियो ।

त्यस्तै, प्रदेश २ (ख)का उम्मेदवार उत्तम जोशीले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । देशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिएका युवाहरुलाई नेपाल ल्याउन पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेतृ एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय निर्वाचनमा पनि भरतपुरका महिला स्वतस्फूर्त आएको र गठबन्धनलाई जिताएको भन्दै प्रशंसा गरिन ।

‘आधा भन्दा बढी महिला मतदाता हुनुहुन्छ । जित हार पनि तपाईहरुकै हातमा छ । त्यसैले स्थिरताको लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ उनले भनिन । सबै क्षेत्रमा सफल व्यक्ति उमेश श्रेष्ठ चितवनले पाएको र प्रदेश उम्मेदवार पनि उत्तिकै अनुभवी र उर्जावान भएकोले गठबन्धनलाई जिताउन उनले आग्रह गरिन । ‘जनतालाई भ्रम छर्न घण्टी बोकेर टुरिष्ट उम्मेदवार चितवन छिरेका छन , उनले भनिन, यस्तो बेला महिला थप शशक्त हुनुपर्छ । जाग्नुपर्छ ।’ स्थानीय सरकारसंँगको तालमेल समन्वयको लागि पनि प्रदेश संघीय निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य महिलाले मतदाता सचेत हुनु पर्ने अवस्था आएको र स्वतन्त्र पार्टीका उम्मेदवारहरुको भ्रम चिर्न गठबनधनका नेताहरु एकजुट हुनुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?