डोटीमा भूकम्पबाट प्रभावित क्षेत्र, ठाउँ–ठाउँमा घरहरु भत्किए (तस्बीरसहित)

लोकपथ
286
Shares

काठमाडौं । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भुकम्पबाट स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा ठाउँ–ठाउँमा पहिरो गएको स्थानीयले बताएका छन् ।

प्रभावित क्षेत्रमा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।

घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् ।

बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । राति भूकम्पको धक्का महसुस भएपछि भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना–५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेको बताइन् । सदरमुकाम चैनपुरका वासिन्दा पनि खुला चौरमा भेला भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?